भारतको बलजफ्तीबारे एमालेको ज्ञापन

भारतको बलजफ्तीबारे एमालेको ज्ञापन

भारतले महाकाली नदीमा एकपक्षीय रुपमा निर्माण गरेको तटबन्धबारे एमालेले आपत्ति जनाएको छ । एमाले दार्चुला जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत् परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तरगत महाकाली नदी किनारमा भारतले बलमिच्याईंपूर्वक तटबन्ध निर्माण गरिरहेको उल्लेख छ । त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनस्तरबाट पटकपटक दबाब दिएपनि भारतले आफ्नो निर्माण कार्य जारी राखिएको एमालेको ठहर छ । भनिएको छ, ‘संवाद मार्फत् नेपाली भूभागमा भारतीय पक्षको एकतर्फी तटबन्ध निर्माण कार्य रोक्न सरकारसँग माग गर्दछौं । छिमेकीले बलमिच्याइँपूर्वक निर्माण गरिरहने तर नेपाल सरकारले मौनता देखाइरहने दुःखद, लज्जास्पद र विडम्बनापूर्ण स्थितिले दार्चुलाबासी न्यायप्रेमी जनताको मनमा चिसो पसेको छ ।’

एमालेका अनुसार विगत लामो समयदेखि सीमा क्षेत्रमा भारतले गलत प्रकारको हर्कत देखाइरहेको छ । महाकाली नदीको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण गरिएको ज्ञापनपत्रमा उल्लेख छ। 

तटबन्धको संरचना निर्माणबारे प्राविधिक रुपमा अध्ययन–विश्लेषण गर्ने र जिल्ला प्रशासन कार्यालयलगायत सबै सरकारी निकायलाई ब्रिफिङ गर्ने, समन्वय गर्ने दायित्व रहेको महाकाली नदी नियन्त्रण आयोजना नै अहिले अस्तित्वमा नरहेको सन्दर्भ पनि उठाइएको छ । दार्चुलाको खलंगामा रहेको उक्त आयोजना कार्यालय खारेज गरेर उक्त हैसियतलाई बैतडीको पाटनमा रहेको सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयमा गाभिएकोमा पनि एमाले दार्चुलाले आपत्ति जनाएको छ ।

लेखिएको छ, ‘सुदूरपश्चिमका पहाडी जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयले महाकालीको अवस्था र आवश्यकताबारे समय दिन सकेको छैन । भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको क्षेत्रभित्र व्यक्तिका व्यक्तिगत लालपुर्जा भएको तथा सरकारी जग्गा समेत रहेकाले तत्काल परराष्ट्र मन्त्रालय मार्फत् समन्वय गरी दुवै देशका संयुक्त नापी टोली र प्राविधिक टोली खटाई समस्या समाधानका लागि सरकारसमक्ष अपिल गर्दछौं ।’

दुवै देशको नापी र प्राविधिक टोलीले क्षेत्र निर्धारण नगरेसम्म निर्माण कार्य रोक्न आग्रह गरिएको छ । अन्यथा, आन्दोलनका थप कार्यकम अगाडि बढाइने चेतावनी जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले दिएका छन् ।

टिप्पणीहरू