गगन थापा ‘सरकार टिक्ने तर नबिक्ने’ अवस्थाको विपक्षमा

गगन थापा ‘सरकार टिक्ने तर नबिक्ने’ अवस्थाको विपक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको विकल्प अहिले नखोजेको बताएका छन् । यद्यपि सरकारले डेलिभरी दिन नसके विकल्पबारे सोच्नुपर्ने अवस्था आउनसक्ने उनले स्पष्ट पारे ।

व्यक्तिगतरूपमा अहिलेसम्म एमालेसँगको सत्ता साझेदारीका लागि भएको ७ बुँदे सहमतिको विकल्प खोज्नुर्पछ भन्नेमा नरहेको तर सरकारले डेलिभरी दिन नसके सधैँभर त्यसरी नै सोचिन्छ भन्ने नहुने उनले बताए । ‘सरकार टिक्ने तर नबिक्ने’ अवस्थाले पार्टीलाई क्षति पुग्ने भएकाले आफू सचेत रहेको थापाको भनाई छ । 

सरकार डेलिभरीमा चुकेको बताउँदै उनले संसदीय प्रणालीमा प्रधानमन्त्री निर्णायक हुने भएकाले यो स्थित अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नै भूमिका खेल्नुपर्नेमा जोडसमेत दिएका छन् ।   

‘हाम्रो कारणले सरकार तलमाथि हुँदैन भन्ने कुरामा हामी सचेत छौँ । तर हामी के कुरामा चिन्तित छौँ भने सरकार टिक्यो तर बिकेन भने त सबैभन्दा ठूलो मूल्य हामीले चुकाउनुपर्ने हुन्छ’, महामन्त्री थापाले भने, ‘काँग्रेसका अहिलेको साथीहरुको चिन्ता भनेको सरकार टिकोस् र टिकाउन लाग्छौँ । हामीलाई मन्त्री हुनुपनि छैन सरकारको दैनिक खेलमा पर्नु पनि छैन । हामी सरकार सफल बनाउनु छ भने त्यो खेलमा लाग्ने कुरै भएन । तर यो सरकारको भ्यालु पनि बढ्नु पर्यो भन्नेकुरा हो ।’

सरकारप्रति आम विश्वसनीयता गुमेको घुमाउरो स्वीकार गर्दै उनले त्यसको जस-अपजस काँग्रेसको थाप्लोमा पनि आउने भएकाले चिन्ता बढेको संकेत गरे । ‘टाउको जसको भएपनि शरीर त हाम्रो हो नि, लड्यो भने बढी घाउ त हामीले खान्छौँ नि । त्यसैले यो सकारको विश्वसनीयता बढोस्, सरकारको रेटिङ बढोस् धन्यवाद दिने शुभेक्षा दिने मान्छेको संख्या बढोस् भन्ने चिन्ता हो हाम्रो’, थापा भन्छन्, ‘फ्याक्टमा बढिरहेको छैन । अब यसलाई ढाकछपोप गरेर लुकाएर राख्ने कि, के गर्ने भनेर चिन्तन गर्न चाहन्छौँ । जस्ले गर्दा परिणाममा सरकार टिकोस् पनि बिकोस् पनि । र यसको फाइदा नेपाली काँग्रेसलाई पनि होस् भन्ने हाम्रो चिन्ता यसमा हो ।’

सरकार असफलतातर्फ उन्मुख देखिए पनि अहिले विकल्पका बारेमा चिन्तनसम्म नगरेको थापाको दाबी छ । सरकार बदल्नेबारे कुनै पनि तहमा सामान्य छलफलसमेत नभएको उनले प्रष्ट्याए ।  

‘नेपाली काँग्रेस पार्टीले बाइ च्वाइस नै राजनीतिक समझदारीमा साझेदारीमा प्रवेश गरेका हौँ । पछिल्लो समयमा काँग्रेसले आर्जन गरेको प्रतिष्ठा भनेको कुनैपनि सत्ता साझेदारीको मार्गमा प्रवेश गरिसकेपछि काँग्रेसले बेइमानी गर्दैन, उबाट त्यस्तो बेइमान हुँदैन भन्ने हो । कम्तीमा प्रतिष्ठा गुमाउन चाहँदैनौँ । त्यसको मूल्यमा कहिलेकहीँ चुकाउनुपर्ने अवस्था पनि आउला तर पनि हामी सचेत छौँ’, थापाले भने ।
 

टिप्पणीहरू