सिके राउत बाटोबाटै गायब भएपछि क्याफेमा देउसी-भैलो

सिके राउत बाटोबाटै गायब भएपछि क्याफेमा देउसी-भैलो

तराई-मधेस केन्द्रित दुई दल नागरिक उन्मुक्ति र जनमत पार्टीले कार्यदल बनाएर झण्डै दुई महिनादेखि पार्टी एकताका लागि आन्तरिक गृहकार्य गरिरहेका थिए । बैशाख १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकता घोषणा सभासमेत तय भइसकेको थियो । तर, नाउपाका संरक्षक रेशमलाल चौधरी एकाएक कार्यक्रमस्थलबाट पक्राउ परेपछि कार्यक्रम भाँडियो, र अनिश्चितिकालका लागि स्थगित भएकाे छ । 

'रात रहे अग्राख पलाउँछ' भने झैँ अन्तिम घडीमा रोकिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि टुंगिएको बताइएको छ । भनिंदैछ कि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ‘माथिबाटै षड्यन्त्र रचिएको’ बताउँदै एकताबाट पछि हटेका छन् । रेशम  रिहा भएकै साँझ नाउपाले आयोजना गरेको कार्यक्रममा राउत नपुग्नुले पनि एकताप्रति उनको ‘मूड स्वीङ’ भएको आशंका गरिएको थियो । 

सर्वोच्च अदालतका एक सनकी कर्मचारीको षड्यन्त्रको शिकार बनेका रेशम साँझ पौने ६ बजे छुटेका थिए । त्यतिबेला उनलाई लिन प्रतिनिधिसभा सदस्यसमेत रहेकका बाबु लालवीर र पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठ र राउतलगायत डिल्लीबजार कारगार पुगेका थिए । तर, त्यही साँझ नाउपाले आयोजना गरेको कार्यक्रममा भने राउत उपस्थित भएनन् । 

रञ्जिता, लालवीर, रेशम डिल्ली बजारबाट सिधै पुरानो बानेश्वरस्थित सनराइज क्याफे पुगेका थिए । दिउँसाे प्रज्ञा भवनमा अलपत्र परेका नेता-कार्यकर्तालाई पनि त्यही भेला हुन भनिएको थियो । तर, डिल्लीबजारबाट रेशम र रञ्जितासँग सँगै निस्किएका राउत भने बाटोबाटै 'गायब भए । 

‘उहाँहरुको गाडी अघिपछि नै थियो, तर डाक्टर (राउत) साप बाटोबाटै हराउनुभयो’, नाउपा सम्वद्ध स्रोतले सुनायो, ‘पछि फोन गरेर क्याफेमा बोलाएका पनि हौँ, तर उहाँले  म बैठकमा छु भनेर टार्नुभयो ।’

अर्को स्रोतका अनुसार त्यो साँझ राउत बैठकमा थिएनन् । पार्टी एकता हुन लागेकै दिन अप्रत्याशितरुपमा चौधरी पकाउ परेकाले उनी झस्किएको र पार्टी एकताप्रतिको धारणा बदलिएको उक्त स्राेतकाे दावी छ । 

‘त्यो दिन एकता भएको भए परिदृश्य अर्कै हुन्थ्यो’, स्रोत बताउँछ, ‘तर त्यो दिन संरक्षकज्यूमाथि जुन नाटकीय प्रपञ्च रचियो, त्यसले पार्टीलाई क्षति पुग्नसक्ने उहाँको निष्कर्ष छ ।’

बताइएअनुसार उक्त दिन राउत सनराइज क्याफे पुगेको भए राति नै एकता घोषणा कार्यक्रम सम्भव थियो । विभिन्न जिल्लाबाट आएको नेता-कार्यकर्ताले ‘हामी आजै एकता चाहन्छौ’ भन्दै होहल्ला समेत गरेका थिए । त्यतिबेला रञ्जिताले ‘जनमत पार्टीका अध्यक्षज्यू सायद व्यस्त हुनुभयो, यहाँ आउनुभएको भए आजै एकता घोषणा हुनसक्थ्यो’ भन्दै कार्यकर्तालाई शान्त रहन आग्रह गरेकी थिइन् ।

तर, कार्यकर्ताले भने ‘आजै चाहन्छौ’ भन्ने अडान छाडेनन् । र, रेशमले देउसी खेलाएर माहोल शान्त बनाउने प्रयास गरे । मध्यवैशाखमा उनले भट्याएका थिए, ‘आहै देउसी रे भन, आहै स्वर मिलाईकन, आहै पार्टी एकता, आहै हुनैपर्छ ।’

के चाहन्छन् त राउत ? 

स्रोतका अनुसार अध्यक्ष राउत बुधबार दिउँसोसम्म जसरी पनि पार्टी एकता गर्ने प्स्ख्मा थिए । तर, रेशम समातिएपछि उनको मन बदलिएको हाे । 

अब पार्टी एकताअघि केही विषयमा छलफल गर्नुपर्ने सर्त राउतका तर्फबाट आउनसक्ने सम्भवना छ । ‘के छलफल हो, कहिले हो, केही थाहा छैन’, उनी निकट स्रोत भन्छ, ‘तर भन्न चाहीँ अब छलफल गरेर मात्रै एकता गर्ने भन्नुभएको छ ।’

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका र राष्ट्रपतिबाट आममाफी पाएका रेशमको विचाराधीन मुद्धाले एकतापछि बन्ने पार्टीलाई पुग्नेसक्ने क्षतिप्रति राउतको चिन्ता हुनसक्ने निकटहरुको अनुमान छ । त्यस्तै, एकताअघि पदाधिकारीको विषय पनि टुंगो लगाउनुपर्नेमा उनी पुगेका छन् । 

उपाध्यक्ष तथा सांसद अब्दुल खानले एकता प्रक्रिया जटिल बन्दै गएको स्वीकार गरे । ‘पहिला तीन पदको मात्रै टुंगो लगाइएको थियो, चौधरीजी संरक्षक, राउतजी अध्यक्ष र रञ्जिताजी सहअध्यक्ष’, उनले जनआस्थासँग भने, ‘तर अब बाँकी पदाधिकारीको पनि टुंगो लगाएर मात्र एकता हुन्छ । त्यसबाहेक पनि धेरै विषय छन् छलफल गर्नलाई ।’

‘दुई महिनादेखि आन्तरिक गृहकार्यमा हुनुहुन्थ्यो, सबै विषयमा छलफल सकाएर एकता गर्ने टुंगो लगाउनुभएको हैन र ? छलफल र तयारी नसकिएको भए हतारमा एकता घोषणा गर्न लाग्नुभएको थियो त ?’ भन्ने प्रश्नमा खानको संक्षिप्त तर रहश्यपूर्ण  प्रतिक्रिया छ, ‘परिस्थितिले सिर्जना गरेको हो नि !’

अध्यक्ष राउतले पार्टी एकतामा रुचि नदेखाएपछि रेशम बर्दिया पुगेको बुझिएको छ । रञ्जिता भने अस्पतालमा उपचाररत छिन् ।

टिप्पणीहरू