सांसदले गरे पूर्व राजालाई पक्रन माग

सांसदले गरे पूर्व राजालाई पक्रन माग

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । 

आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तीनकुने प्रकरणमा ज्ञानेन्द्रलाई समातेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । चैत १५ गते राजवादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसामा परिणत हुँदा एक पत्रकारसहित दुई जनाको ज्यान जानुका साथै अबौँको भौतिक सम्पति क्षति भएको थियो । पूर्व राजाको निर्देशनमा उक्त घटना घटाईएको भन्दै उनलाई छानविनको दायरामा ल्याउनुपर्ने माग गणतन्त्रवादी दलका नेताहरुले गरिरहेका छन् । 

सांसद सुनारले पनि उक्त घटनामा पूर्व राजा ज्ञानेन्द्रको भित्रि संलग्नता रहेको दाबी गरे । ‘चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्नुपर्ने थियो’, उनले भने, ‘सरकार अहिलेसम्म के हेरेर बसेको छ ? सरकारले किन ढिलासुस्ती गरेको हो ? तुरून्त पक्राउ गरेर कारवाही अघि बढाइयाेस् ।’

सरकारले पूर्व राजाको परिवारलाई उपलब्ध गराउदै आएको सेवा सुविधा र सुरक्षा फिर्ता गर्नुपर्ने सांसदको माग छ ।

टिप्पणीहरू