‘कुँडिएको’ मनसहित एमाले बैठकमा युवराज प्रकट

‘कुँडिएको’ मनसहित एमाले बैठकमा युवराज प्रकट

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामिला सल्लाहकार युवराज खतिवडाले आर्थिक विकासको कुरा उठाएका छन् । उनले पुनः ऋण नलिई मुलुकको विकास गर्न असम्भव बताएका छन् । पूर्व अर्थमन्त्री,पूर्व गभर्नर,पूर्व योजना आयोग उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व राजदूत खतिवडाले ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न वैदेशिक ऋण लिनैपर्ने धारणा पनि राखेका छन् ।

आज राजधानीमा आयोजि प्रि बजेटसम्बन्धी एक छलफलमा बोल्दै उनले ऋणको आकार बढे पनि ऋण लिन हिच्किचाउन नहुने बताए । नयाँ नयाँ शब्द र कार्यक्रम अघि सारेर आफूलाई फरक ढंगको अर्थशास्त्रीको रुपमा चिनाउँदै आएका उनले यस पटक सरकारको नीति तथा कार्यक्रममा ‘बिजनेस प्लान’ र ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रमबारे उल्लेख गरिएकोमा जोड दिएका छन् ।

उनले मितव्ययिताको कुरो उठाउँदै विदेश भ्रमणमा भन्दा धेरै खर्च सफ्टवेयर खरिदमा भएको दाबीसमेत गरेका छन् । गत साउनमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त उनी केही महिनादेखि गुपचुप थिए । राष्ट्र बैंक गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले वास्ता नगरेपछि उनी मौन बसेको बालुवाटार स्रोतले बतायो । 

एमाले संसदीय दलको हिजो बालुवाटारमा आयोजित बैठकमा उपस्थित उनले आगामी बजेट र प्रस्तुत नीति तथा कार्यक्रमबारे सांसदहरुलाई एकछिन पढाएका थिए । आज निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्रको कुरा गरे पनि गभर्नर नियुक्तिबारे अनौपचारिक तवरले समेत उच्चारण नगरेको बताइन्छ । 

गभर्नर नियुक्ति प्रकरणमा खतिवडा कामु गभर्नरको जिम्मेवारीमा रहेकी निलम ढुंगाना,अर्का डेपुटी बमबहादुर मिश्र,हाल चर्चामा आएका गुणाकर भट्ट कसैको पक्षमा पनि नरहेको स्रोतको दाबी छ । उनले अघि सार्न खोजेको भनिएका एक जना पूर्वसचिवबारे प्रधानमन्त्रीले कुनै सोधनी नगरेपछि खतिवडाको मन गत मंसिरदेखि नै ‘कुँडिएको’निकट स्रोतको दाबी छ ।

टिप्पणीहरू