प्रश्नपत्र बाहिरिएको छैन : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा शुरु हुने अगावै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताएको छ । पूराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको बोर्डको दाबी छ ।
आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा शुरु हुन अगावै भक्तपुरको गुण्डुस्थित काठमाडौं वल्र्ड स्कुलको विद्यार्थीको मोबाइलमा पठाइएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यसपछि जिल्ला परीक्षा समन्वय समिति, भक्तपुर पदाधिकारी एवम् जिल्ला प्रशासन कार्यालय र बोर्डबाट खटिएका कर्मचारीहरुद्वारा गरिएको छानबिनमा उक्त सूचना गलत पाइएको बोर्डको भनाइ छ । ‘सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको व्यहोरा जानकारी गराइन्छ । परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पूराना र प्रयोग भइसकेका प्रश्नपत्रहरु राखी भ्रम सिर्जना गर्नेउपर आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुर्याउने काम नगर्न र विषयवस्तुको आधिकारिता पुष्टि नगरी सञ्जालमा नराख्न पनि सचेत गराइएको छ ।
टिप्पणीहरू