टिआरसीबारे प्रधानमन्त्री र प्रचण्डबीच यस्तो छलफल

टिआरसीबारे प्रधानमन्त्री र प्रचण्डबीच यस्तो छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संक्रमणकालीन न्याय (टिआरसी)बारे छलफल भएको छ । 

साँझ सिंहदरबारमा भएको भेटवार्तामा टिआरसी र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संक्रमणकालीन न्यायसम्बन्धमा पीडितहरुले राखेको सरोकार र यसम्बन्धी दुई आयोगका  पदाधिकारी सिफारिसको प्रक्रियाबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको जानकारी दिए । 

पूर्वमन्त्री पुनका अनुसार प्रचण्डले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारे भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर ध्यानाकर्षण गराएको र प्रचण्डलाई पनि भेट्न समय मागेको उनले जानकारी दिए । 

‘टिआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका र चर्चा भएका र त्यसबारेमा भइरहेका प्रक्रियाको बारेमा प्रधानमन्त्रीज्यूसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आज जिज्ञासाहरुमा छलफल भएको छ’, पुनले भने, ‘प्रधानमन्त्रीज्यूले अहिले भइरहेका प्रक्रियाहरु, पीडितहरुले उहाँसँग उठाएका सरोकारका विषयहरु र नेपाली काँग्रेसका सभापतिज्यूसँग पनि भिक्टिमहरु गएर आफ्ना सरोकार राखेका रहेछन् । भोलि प्रमुख प्रतिपक्ष दलका नेता कमरेड प्रचण्डसँग समय लिनुभएको छ, छलफलका लागि । त्यही विषयहरुमा छलफल भयो । यो प्रक्रिया सकारात्मक रुपले अघि बढिरहेको नै पायौँ । कहाँ पुग्यो र के भइरहेको छ भन्ने विषयमा प्रधानमन्त्रीज्युले प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउनु भयो ।’

टिआरसीसँग सम्बन्धित प्रक्रियाहरु सकारात्मक रुपले नै अघि बढिरहेको आफूहरुले पाएको उनले जानकारी दिए ।

टिप्पणीहरू