रेशम पक्राउबारे प्रधानमन्त्रीले जवाफ नदिए नाउपाले सरकार छाड्ने
नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ मागेको छ । सांसद लालवीर चौधरीले आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ नदिए सरकारबाट बाहिरिने चेतावनी दिए।
चौधरीलाई बैशाख १७ गते दिउँसो एकाएक पक्राउ गरी डिल्लीबजार कारागार पुर्याएर साढे पाँच घण्टापछि रिहा गरिएको थियो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्टले लेखेको 'फेक पत्र' को आधारमा उनी समातिएका थिए ।
तर, सांसद चौधरीले भने पार्टी एकता घोषणा हुने दिन संरक्षक पक्राउ पर्नुले सरकारको नियतमाथि प्रश्न उठेको बताए । रेशमका बाबुसमेत रहेका उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई भोलिसम्मको अल्टिमेटम दिँदै जवाफ मागे ।
‘नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला रेशम चौधरीलाई शंकास्पद ढंगले पक्राउ गरेर डिल्लीबजार पुर्याइयो’, उनले भने, ‘उहाँलाई पक्राउ गर्न पठाइएको कागज फर्जी भनिएको छ, तर सरकारले आधिकारिक जवाफ दिएको छैन, भोलिको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’
रेशम चौधरीको नाटकीय पक्राउ र रिहाईले सर्वोच्च अदालत र प्रहरी संगठनमाथि पनि प्रश्न उठिरहेको छ । यहि कारण नाउपा र जनमत पार्टीबीचको एकता घोषणा अनिश्चितकालीन स्थगित भएको अवस्था छ ।
टिप्पणीहरू