खासखुसपछि आशंका, आलोचनापछि अचम्भित

खासखुसपछि आशंका, आलोचनापछि अचम्भित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नैतिक रुपमा ढलिसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सरकार प्राविधिक रुपमा मात्रै टिकिरहेको टिप्पणी गर्नुभएको छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले प्रतिगामी शक्तिको सक्रियता बढ्नुमा वर्तमान गठबन्धन नै मुख्य जिम्मेवार रहेको दाबी गर्नुभयो । ‘प्राविधिक रुपमा त सरकारले ढलेको छैन, तर जनताको मन र मस्तिष्कबाट नैतिक रुपमा ढलिसकेको छ’, उहाँले भन्नुभयो, ‘सरकार मात्रै पनि ढलिरहेको छैन फेरि, लोकतन्त्रमाथि प्रहार गर्ने अवसर पनि सिर्जना भइरहेको छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शासकीय सुधार आयोगको काम के हो ? भनेर प्रश्न गर्नुभएको छ । ‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संघीयता सबलीकरण र संविधान संशोधनको कुनै योजना छैन’, उहाँले अघि थप्नुभयो, ‘प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा शासकीय सुधार आयोग पनि गठन गर्नुभयो, के हो त्यसको काम ? कार्यक्षेत्र र कार्य प्रक्रिया केही भनिएको छैन ।’

प्रधानमन्त्री ओलीले बैठकअघि प्रस्तुत गर्नुभएको ‘नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्तावमा टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले सरकारको चर्को आलेचना गर्नुभएको हो । प्रतिपक्षी दलको पहिलो लहर (अन्तिम बायाँ कुर्सि)मा बस्नुभएका प्रचण्ड र रोष्ट्रममा उक्लिनुअघि सत्तापक्षको पहिलो लहर (अन्तिम दायाँ कुर्सि)मा बस्नुभएका प्रधानमन्त्री ओलीले हात मिलाउनुभएको थियो । केहीबेरको खासखुसपछि प्रचण्ड रोष्ट्रममा उक्लिनुभएको थियो । 

दुई शीर्ष नेताबीचको खासखुसले अन्य सांसदहरुको ध्यान खिचेको थियो । राजनीतिलाई सम्भावनाको खेल भनिएकाले खासखुस र आलोचना दुबैबाट विभिन्न थरी आशंकालाई बल पुगेको सहजै अनुमान गर्न सकिन्छ ।

 

टिप्पणीहरू