प्रधानमन्त्रीको विरोधाभाषपूर्ण स्टाटस : एकातर्फ कानुन, अर्कोतर्फ म्याद थप
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट मैदान स्तरोन्नतिको काम सक्न निर्माण कम्पनीलाई दुई महिनाको अल्टिमेटम दिनुभएको छ । कम्पनीका प्रतिनिधिहरुसँग प्रगति विवरण बुझ्दै मैदानमा फ्लडलाइट जडान र प्याराफिट निर्माणको काम असारभित्र सम्पन्न गर्न निर्देशन दिइएको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
प्रधानमन्त्रीले गत असार अन्तिममा चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि तीन सय दिनभित्र क्रिकेट मैदान निर्माण गर्ने उद्घोष गर्नुभएको थियो । उक्त समयावधि सकिदाँसम्म मैदान स्तरोन्नतीको काम नसकिएपछि आज उहाँले दुई महिनाको समय दिनुभएको हो ।
सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत पुसमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेकोमा दुई छुट्टाछुट्टै कम्पनीले काम गरेका हुन् । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत उल्लेख छ ।
समयमै काम नसकेको भनेर शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको प्रधानमन्त्रीको भनाइ छ । थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता रहेको पनि प्रधानमन्त्रीले लेख्नुभएको छ । भन्नुभएको छ, ‘कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पथ्र्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको छु । असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउने छौं ।’
टिप्पणीहरू