सचिवलाई सुट गर्न खोज्छन् सेनापति

सचिवलाई सुट गर्न खोज्छन् सेनापति

देशका दुई ठूला दल मिलेर बनेको सरकारको प्रमुख एउटा उद्देश्य थियो, अर्थतन्त्र सुधार । यो सरकार गठन हुनुअघि अर्थतन्त्र जुन अवस्थामा थियो अहिले सुध्रिनु त परको कुरा झन चौपट छ । वैदेशिक मुद्रा सञ्चितिको अवस्थाबाहेक अन्य सूचक सकारात्मक छैनन् । आर्थिक गतिविधि सुस्ताउँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको छ । यस्तो बेला अर्थतन्त्रको समस्या समाधान नै सरकारको मूल कार्यभार हुनुपर्ने हो । तर, बिग्रँदो आर्थिक अवस्थाबाट देशलाई पार लगाउने प्रतिबद्धतासहित गठित दुई तिहाइको सरकारले १० महिनाको अवधिमा राम्रो नतिजा दिनै सकेन । 

संकटग्रस्त अर्थतन्त्र सम्हाल्नुपर्नेछ तर जिम्मेवार पदाधिकारीलाई त्यसतर्फ कुनै चिन्ता छैन । ‘राइट म्यान इन राइट प्लेस’ को अवधारणाअनुरूप सक्षम र योग्य व्यक्तिलाई नियामक निकायको नेतृत्वमा पठाउनुपर्ने हो । तर, सत्तारुढ दलबीच भागबण्डा नमिलेका कारण महिनौँसम्म नियमनकारी निकाय केन्द्रीय बैंक नेतृत्वविहीन हुनुपरेको छ । कतिसम्म भने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको प्राथमिकतामा योग्य व्यक्ति होइन, स्वार्थ समूह र विचौलियाले बोकेका पात्रलाई टिप्न प्रतिस्पर्धाजस्तो देखिन्छ । 

राजनीतिक नेतृत्व मात्र होइन, कर्मचारी प्रशासन पनि ‘राम्रा हैन हाम्रा’ कै पछाडि दौडिएको छ, यो आजको कटु यथार्थ हो । तर, कुनै समय यस्ता प्रशासक पनि थिए, जो प्रधानमन्त्री, मन्त्रीको अनुहार होइन देश र ढुकुटीको अवस्था हेरेर निर्णय गर्थे । आफ्नो छाला जोगाउन होइन देशको इज्जत जोगाउन लाग्थे । यिनैमध्येका हुन्, पूर्वअर्थसचिव रामेश्वर खनाल । कसैको दबाबसामु नझुक्ने कर्मचारीको पहिचान बनाएका उनी पहिलो कम्युनिष्ट अर्थमन्त्री भरतमोहनको पछिल्लो कार्यकालमा अर्थसचिव पद छाड्नसमेत तयार भएका थिए । पूर्वगभर्नर विजयनाथ भट्टराई अझै पनि भन्ने गर्छन्, ‘नेपालमा अरू धेरै सचिव भए होलान् तर अर्थसचिवचाहिँ रामेश्वर खनाल मात्र हो ।’

यिनै काबिल प्रशासक, अर्थतन्त्रका ज्ञाता खनालले देशको पक्षमा अडान लिएबापत कस्तोसम्म अप्ठेरो झेल्नुपरेको थियो भन्ने एउटा सन्दर्भ यहाँ उल्लेखनीय छ । कुरा ०६२/६३ अघिको हो । सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला मन्त्रालयको बजेट महाशाखा प्रमुख थिए । बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनलाई मागेजति पैसा हालिदिन सेनाको चर्को दबाब थियो । तर, देशको ढुकुटी बलियो नभएकाले जंगीअड्डाले मागेजति रकम छुट्याउने अवस्था थिएन । खनालले अस्वीकार गरिदिए । त्यसपछि रिसाएका प्रधानसेनापति प्यारजंग थापाले थर्काउँदै ‘सुट’ गरिदिने धम्की दिए । 

अर्थमन्त्री थिए, हाल राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी । जंगीअड्डाले खनाललाई मार्ने धम्की दिएको विषय उनले थाहा पाए । ‘आर्मी चिफले मेरो सहसचिवलाई थर्काउने ?’ भन्दै लोहनीले राजीनामा गर्न खोजेपछि प्रधानमन्त्रीले बोलाएर सम्झाउनुपरेको थियो । ‘तपाईंले कहाँ राजीनामा दिने डा. साप, प्यारजंगलाई म सम्झाउँछु’ भनेर थामथुम पारेको यो घटना राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि थाहा छ । 

एउटा कर्मचारीको तर्कपूर्ण अडानका कारण शाहीकालको जंगीअड्डासमेत पछि हट्नुपरेको यो घटनाबारे बेला–बखत चर्चा हुने गर्छ । एकपटक अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)का प्रतिनिधिको नेपाल भ्रमणका बेला एउटा उच्चस्तरीय भेटघाटमा समेत यो प्रसंग निस्किएको थियो । त्यसबेला राजस्व सचिव भइसकेका थिए खनाल । जटिल अवस्थामा पनि अर्थतन्त्र सम्हालेर कुशलता देखाएका कारण उनी अन्तर्राष्ट्रिय जगतमा पनि पत्याइएका पात्र हुन् । त्यही भएर आइएमएफका प्रतिनिधि काठमाडौँ आएका बेला उनलाई भेट्न पुगे । 

प्रधानमन्त्री थिए शेरबहादुर देउवा । खनालले तिनलाई प्रधानमन्त्रीसँग भेटाउन लिएर गए । कुराकानीका क्रममा एक जनाले खनालको प्रशंसा गर्दै ‘मिस्टर खनाल ह्याज डन भेरी गुड जब’ भनेपछि देउवाले मुसुक्क हाँसेर ‘यु नो माई आर्मी चिफ वान्स ट्राइड टु किल हिम’ भनेका थिए । अहिलेको बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउन राष्ट्र बैंकलगायत नियामक निकायमा यस्तै निडर, क्षमतावान, अन्तर्राष्ट्रिय क्षेत्रले पनि पत्याएको योग्य मान्छे चाहिएको थियो । तर, आफ्ना मान्छे खोज्दै हिँड्ने र त्यसैमा अडान लिएर सत्ताको सौदावाजी गर्न पछि नपर्ने गणतन्त्रका शासकमा सूर्यबहादुर जत्तिको पनि सुझबुझ नदेखिएको कतिपयको टिप्पणी सुन्न पाइन्छ ।
 

टिप्पणीहरू