प्रचण्डलाई राजनीतिक बेइमान भनेपछि काँग्रेस सांसदको जोड सेफ्टीट्याङ्कीमा
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक बेइमानीको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रचण्ड राजनीतिक रुपमा इमान्दर नभएको दाबी गरे ।
कैलालीका सांसद बलायरले प्रचण्डलाई आफ्नै सहयोद्धाहरुको पाप लाग्ने बताए । ‘आज मैले वैबाबाविटोलेलिसो भन्या के होला भनेर प्रमुख विपक्षी दलका नेतालाई सोधेको थिएँ’, उनले सुनाए, ‘वै भन्या वैद्य, बा भन्या बादल, बा भन्या बाबुराम, वि भन्या विप्लव, टो भन्या टोपबहादुर रायमाझी, ले भन्या लेखराज, लो भन्या लोकेन्द्र विष्ट र सी भन्या सीपि गजुरेल ।’
आफ्नै सहयोद्धाको मन जित्न नसक्ने प्रचण्डले जनताको मन जित्छु भनेर दावी गर्नु हाँस्यास्पद मात्र भएको बलायरको तर्क छ । ‘ती सहयोद्धाहरु हिजो तपाईंका लागि मार्न र मर्न तयार थिए, तर तपाईंले नै उनीहरुको मनोभावना बुझ्न सक्नु भएन, अब पनि देश र जनताको मनोभावना बुझ्ने परिकल्पना गर्नु व्यर्थ हुनेछ’, उनले थपे ।
फरक प्रसंगमा सांसद बलायरले सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रांगारिक मलको प्रयोगमा जोड दिनुपर्ने पनि बताए । उनले अघि भने, ‘तराईका छाडा पशु चौपायको व्यवस्थापन गरेर मल उत्पादन गर्न सकिन्छ, शहर बजारका सेफ्टी ट्यांकीहरुलाई हुक मार्फत् प्रशोधन गरेर प्रांगरिक मलको रुपमा प्रयोग गर्न सकिन्छ, सरकारले यसतर्फ पनि ध्यान दिओस् ।’
टिप्पणीहरू