एमाले प्रतिनिधिहरुको टाउकोमा टाँका, नेतालाई सुरक्षा घेरा
नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशनमा झडप हुँदा घाइते भएका दुई जनाको टाउकोमा टाँका लगाइएको छ । जिल्ला नेता सत्यनारायण महासेठको टाउकोमा तीन टाँका र रामेश्वर दासको टाउकोमा दुई टाँका लगाइएको छ । रड प्रहारबाट उनीहरुको टाउकोमा चोट लागेको अधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।
अधिवेशनमा बिहानैदेखि पार्टी केन्द्रीय सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबीच विभिन्न पदमा दावी हुँदै गएपछि विवाद बढेको थियो । महासेठले विवाद मिलाउने प्रयास गरेको बेलामा एक्कासी सुरेन्द्र भण्डारी नेतृत्वको समूह आक्रमणमा उत्रिएको अर्को पक्षको आरोप छ ।
भण्डारीसहितका नेताहरुले रड प्रहार गरेपछि माहौल तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रमुख (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार भण्डारी उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् ।
‘एउटै पार्टीका मान्छेहरु हुलमुलमा हानाहान गर्न थालेपछि हामीले रोक्ने प्रयास गयौँ’, एसपी तिवारीले जनआस्थासँग भने, ‘घाइतेहरुलाई तत्काल अस्पताल पुर्याएर टाँका लगाइएको छ, अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।’
सचिव महासेठलाई प्रहरीले तत्काल कार्यक्रमस्थलबाट सुरक्षित तवरले बाहिर निकालेको थियो । ‘महासेठज्यूलाई स्कर्टिङ गरेर पठायौँ, अरुलाई छुट्याएर झडप शान्त बनायौँ’, उनले थपे ।
प्रहरीले आफूहरुले भनेको नमान्ने भएपनि एमाले प्रतिनिधिहरुलाई छलफल गरेर विवाद समाधान गर्न सुझाव दिएको छ । ‘पार्टीको कार्यक्रममा हामीले एक जनालाई पक्राउ गरेर अर्कोको पक्ष लिन मिल्दैन’, उनले सुनाए ।
टिप्पणीहरू