गभर्नरमा म्याडमले हलो अड्काएको ठहर, १० महिना निलमलाई कहर

राष्ट्र बैंकमा दुई महिनादेखि रिक्त गभर्नर नियुक्तिमा सरकार, प्रधानमन्त्रीभन्दा पनि त्यहिँ भित्रको समस्याले अप्ठेरो परेको काँग्रेस सभापति शेरबहादुर देउवाको भनाइ छ । उहाँले गभर्नर नियुक्तिमा राजनीतिक कारण नरहेको जनाउँदै नाम र सन्दर्भ उल्लेख नगरी बैंकभित्रको ‘आन्तरिक कारण’ उल्लेख गर्नुभएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक सम्वादमा बोल्दै सभापति देउवाले घुमाउरो तरिकाले कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेकोतर्फ इंगित गर्नुभएको बताइन्छ । 

उहाँले भन्नुभयो, ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन । ओलीजी पनि सकरात्मक नै हुनुहुन्छ । राष्ट्र बैंकभित्रकै समस्या हो ।’ काँग्रेस नेतृत्वले पछिल्लो समय सुदूर पश्चिमका गुणाकर भट्टलाई गभर्नरमा अघि सारेको छ । उनले बैंकको कार्यकारी निर्देशकबाट वैशाख ५ गते राजीनामा दिए पनि तिम्सिनाले आजसम्म स्वीकृत गरेकी छैनन् । 

बैंकको बहालरत कार्यकारी निर्देशक गभर्नर बन्न नसक्ने ऐनमा व्यवस्था छ । सोही विषयलाई लिएर बैंकमा क्रियाशील काँग्रेस निकट कर्मचारी युनियनले आज विज्ञप्ति जारी गरेर कायम मुकायम गभर्नरलाई लाचारी, नैतिक र क्षमताहीनको बिल्ला भिराइदिएको छ । डेपुटी निलम स्वयम् गभर्नरको दौडमा छिन् । उनले अघिल्लो वर्षदेखि नै आफूलाई आगामी गभर्नरको रुपमा अघि सार्दै विभिन्न माध्यमबाट प्रचार गराउँदै आएकी छन् । 

विगतमा वरिष्ठ कार्यकारी निर्देशकहरुलाई पछाडि पारेर आफूले डेपुटी गभर्नर उछिट्याएकी निलमले यतिखेर कनिष्ठको कुरो उठाएकी हुन् । कायम मुकायम गभर्नर नियुक्त नहुँदै उनले आफूलाई आगामी गभर्नरको रुपमा अघि सार्दै बैंकमा सोही अनुरुपको व्यवहार देखाएकाले अहिले पछाडि हट्न नैतिक संकट उत्पन्न भएको बताइन्छ । 

नगरकोटमा आयोजित २०८० पुसको आवासीय कार्यक्रममा भएको एउटा घटनापछि उनी र अर्का डेपुटीबीच लगभग बोलचालको अवस्था छैन । यसअघिका गभर्नर महाप्रसाद अधिकारीसँगको चार वर्षे सहकार्यमा समेत उनले सहयोग भन्दा असहयोग पुर्याएको बैंकका उच्च अधिकारीहरु बताउँछन् । अहिलेको अवस्थामा गुणाकर भट्ट गभर्नर नियुक्त भएमा निलमका लागि आगामी १० महिना फलामको च्युरा चपाए सरह हुने निश्चित छ । 

वैशाख ५ गते बिहान सवा १० बजेको समयमा राजीनामा बोकेर निलमको कार्यकक्षमा पुगेका भट्टलाई निलमले भनेका वाक्य र गरेको व्यवहारलाई कम बोल्ने उनले त्यत्तिकै छाडिदेलान् भन्ने अवस्था देखिँदैन । विगतमा गभर्नर तिलक रावलले तत्कालीन डेपुटी रामबाबु पन्त र सत्येन्द्रप्यारा श्रेष्ठले प्रफुल्लकुमार काफ्लेलाई बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म डेपुटीको कार्यकक्षमा बसेर चिया पिउँदै पत्रिका पढ्ने कार्यमा सीमित गराइदिएका थिए ।

टिप्पणीहरू