सिंहदरबारको गेटमा विभेद गरिएको भन्दै सांसदको आक्रोश

देशको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई गरिएको कडाईप्रति पूर्व मन्त्रीले सख्त विरोध जनाएका छन् । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा संघीय सांसद प्रकाश ज्वालाले सिंहदरबार छिर्नका लागि सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै आकोश व्यक्त गरेका हुन् । आजको प्रतिनिधिसभा बैठकमा उनले गेट पासका लागि चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्था अन्त्य गर्न माग गरे । 

यसलाई कुशासनको ज्वलन्त नमूना भनेका पूर्वमन्त्रीले सिंहदरबारको गेटमै देखिएको यो स्थितिले मुलुकको बेतिथी र अनियमितता झल्किने बताए ।  “अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिन्छ । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु”, ज्वालाले भने ।   

मन्त्रालय सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरी जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य पारदर्शिताका दृष्टिले पनि स्वीकार्य नहुने चेतावनी उनले दिएका छन् । सांसद ज्वालाले मन्त्रीहरू कालो सिसा भएको गाडीमा भित्र पस्ने तर जनता घाममा पसिना चुहाउँदै पासका लागि गेटबाहिर तड्पिनुपर्ने अवस्था तत्काल अन्त्य गर्नै पर्ने बताए ।   

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै ज्वालाले तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

 

टिप्पणीहरू