राष्ट्रपतिलाई तिमी भनेकोमा प्रधानमन्त्री आज पनि आक्रोशित
फाइल फाेटाे
सञ्चार माध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउँदै आउनुभएका प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले सोही विषयमाथि आज फेरि आक्रोश पोख्नुभएको छ । सञ्चारमाध्यमले ‘तपाईं’ को सट्टा ‘तिमी’ भन्ने गरेकोमा उहाँले आपत्ति जनाउनु भएको हो ।
समाचारमा सम्मानार्थी शब्द प्रयोग नगरेर मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै उहाँले तितो पोख्नुभयो । सरकारी मुखपत्र गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली भाषामा अनेक सम्मानार्थी शब्द रहेको तर मिडियाले तल्लोस्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाउनुभयो ।
नेपाली भाषा विश्वकै धनी भाषा भएको भएकाले अंग्रेजीको नक्कल गरेर कद नघटाउन उहाँले आग्रह पनि गर्नुभयो । नेपाली संस्कार र संस्कृतिअनुसार सम्मानको भाषा बोल्न पर्नेमा जोड दिँदै प्रम ओलीले हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग नहुने बताउनुभयो ।
‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ’, भन्नुभयो, ‘नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन । राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैथे, आराम गर्थे । सुन्दैनथे श्रमण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर । जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’
यसअघि यस्तै अर्को सार्वजनिक कार्यक्रममा उहाँले राष्ट्रपतिलाई तिमि सम्बोधन गरेको भन्दै मिडियामाथि प्रश्न उठाउनुभएको थियो । आक्रोशित हुँदै भन्नुभएको थियो, ‘राष्ट्रपतिलाई भेट्दा हामी राष्ट्रपति कस्तो छ तिम्लाई भन्छौँ र ? भन्दैनौँ नि !, सम्माननीयज्यू हजुरलाई कस्तो छ भन्छौँ । तर, त्यहि भाषा छाप्न पर्यो भने सभ्यतापूर्वक बोले हुन्न ?’
समाचारमा प्रयोग हुने तिमी सम्बोधनप्रति ओलीले बारम्बार विमती राख्दै आउनुभएको छ । अघिल्लोचोटि प्रधानमन्त्री भएका बेला सार्वजनिक कार्यक्रममै उहाँले अखबारमा आदरार्थी शब्द प्रयोग नगरिएकोमा आक्रोश जनाउनुभएको थियो ।
‘तपाईं भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अङग्रेजीमा ‘यू’ भनेपछि पुग्छ । बीबीसीले पहिले शुरु गर्र्यो । यसो भने, यसो भनिन्’, त्यसबेला ओलीले भन्नुभएको थियो, ‘हाम्रा हजुरबाले यसो भने, हजुरआमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । त्यही कपी गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘तिमी’ सम्बोधन गरेको भन्दै त्यसैबेला ओली बेस्कन रिसाउनुभएको हो । कुनै सन्दर्भमा देउवाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गरिएकोमा ओलीले सार्वजनिक मन्चबाट टिप्पणी गर्नुभएको थियो ।
टिप्पणीहरू