भारत-पाक तनावबारे विश्वको ध्यानाकर्षण, साँध जोडिएको नेपाल मौन

भारतले पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेपछि तीव्र ढंगले नयाँ नयाँ घटनाक्रम विकसित भइरहेका छन् । भारतीय सेनाले हिजो मध्यराति १ बजे पाकिस्तानीको बहाबलपुर, मुरिदके, तेहरा कलां, सियालकोट, बरनाला, कोटली, मुफ्जरावादमा आक्रमण गरेपछि विश्वको ध्यान केन्द्रित भएको छ ।
हमलापछि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शारिफले आज दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर सेना प्रमुख जर्नेल सईद आसिम मुनिरलाई जवाफी रणनीति बनाउन निर्देशन दिएको बताइएको छ । शारिफले सेना प्रमुख मुनिरलाई पूर्ण अधिकारसहित ‘युद्धको जिम्मा’ दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्व गुप्तचर प्रमुखसमेत रहेका मुनिरकै निर्णयको आधारमा अबसुरक्षा रणनीति तय हुने सैन्य विश्लेषकहरुले जनाएका छन् । मुनिर आफैँमा ‘स्ट्रेट फरवार्ड र हक्की’ स्वभावको व्यक्ति भएकाले प्रधानमन्त्री शारिफले उनलाई जिम्मेवारी सुम्पिएको विश्लेषण छ ।
प्रम शरिफले आजै साँझ राष्ट्रको नाममा सम्बोधन गर्न लागेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गएरातको घटनापछि बढ्नसक्ने जोखिम र सिर्जना हुनसक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै युरोप भ्रमण स्थगित गरेका छन् । साथै, उनले पनि सुरक्षा परिषद्को बैठक बोलाएर सर्तक रहन निर्देशन दिएको बताइन्छ ।
यसैबीच, दुई देशबीचको टकराव र भारतीय सैन्य कारवाहीको विषयमा विश्वका शक्तिशाली नेताहरुको धारणा सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानविरुद्धको भारतीय सैन्य कारवाहीलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देशका सुरक्षा सल्लाहकारहरुसँग कुराकानी गर्दै ‘अवस्था थप बिग्रन नदिन संवाद कायम राख्न’ सुझाएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारतीय हमलाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘संयम अपनाउन, तनाव कम गर्न र क्षेत्रीय तथा अन्तराष्ट्रिय शान्तिलाई खतरा पुर्याउने गतिविधिलाई टाढा राख्न’ उनको आग्रह छ ।
संयुक्त अरब इमिरेट्स् (युएई)ले पनि भारतीय सैन्य कारवाहीको कारण एसियाका अन्य देशहरुमा समेत नकारात्मक असर परेको र यसलाई तत्काल रोक्नुपर्ने प्रतिक्रिया दिएको छ । उता जापानका क्याविनेट सचिव योशिमासा हायासीले यस घटनाले प्रतिशोधलाई उत्प्रेरित गर्नसक्ने र पूर्ण सैन्य द्वन्द्वमा रुपान्तरण हुनसक्नेमा चिन्ता व्यक्त गरेका छन् ।
भारतको मुख्य हतियार निर्यातकर्ता रहेको रुसले संवादबाट युद्धलाई तत्काल रोक्न आग्रह गरेको छ । टर्कीले पाकिस्तानमाथि भारतीय आक्रमणको खुलेर निन्दा गरेको छ । त्यहाँको विदेश मन्त्रालयको प्रतिक्रिया छ, ‘हामी यस्ता उत्तेजक कदमहरू र सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने आक्रमणहरूको निन्दा गर्छौं !’
चीनले पनि भारतीय सैन्य हमलाप्रति खेद प्रकट गर्दै संयमता र संवादबाट विवाद सुल्झाउन सल्लाह दिएको छ । भारत-पाक तनावलाई लिएर विश्वभरबाट चिन्ताका साथ चासो प्रकट भैरहँदा साँध जोडिएको नेपालले भने अहिलेसम्म औपचारिक प्रतिक्रया जनाएको छैन । दिउँसो प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा त्यसबारे छलफल भएको बताइएपनि औपचारिक धारणा सार्वजनिक गरिएको छ ।
आजै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भारतसँगको सीमानाकामा सुरक्षा चेकजाँचमा कडाई गर्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू