न्याय नपाएर झुण्डिएकी आनन्दीका दोषीलाई समात्न आलटाल
न्याय माग्दा उल्टै मिल्न दबाब आएपछि आत्महत्या गरेकी सिराहाकी आनन्दीदेवी सदायाका दोषीहरुलाई समात्न प्रहरीले आलटाल गरेको छ । नवराजपुर गाउँपालिका–३, दानबारीस्थित आफ्नै घरमा गत वैशाख २ गते झुण्डिएर आत्महत्या गरेकी उनीमाथि जबरजस्ती करणी गर्न खोज्नेहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन ।
२२ वर्षीया आनन्दीमाथि स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले गत पुस ९ गते सामूहिक बलात्कारको प्रयास गरेका थिए । उनीहरुविरुद्ध जाहेरी दर्ता गर्न पुगेकी आनन्दीलाई प्रहरीले मिल्न दबाब दिएको थियो । परिवारले मिडियामा जाने तयारी गरेपछि प्रहरीले बल्लतल्ल फागुन २५ गते जाहेरी दर्ता गर्यो ।
तैपनि, प्रहरीले दोषीहरुलाई पक्राउ गर्न आनाकानी गरेपछि उनले आत्महत्या गरेकी हुन् । प्रहरीको दबाबपछि शव बुझेका आनन्दीका परिवारले दोषीलाई कारबाहीको माग गर्दै आएका छन् । उनका आफन्त भन्छन्,‘न्याय पाउन धेरै गाह्रो रहेछ । घटना भएको दुई महिनापछि प्रहरीले बल्लतल्ल मुद्दा दर्ता गर्यो । तर, अझैपनि दोषीलाई पक्राउ गर्न सकेको छैन् ।’
उक्त घटनामा प्रहरीले घुस लिएको विषयमा जिल्ला प्रहरी कार्यालय, सिराहाले छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले दुवै जना फरार रहेको बताए । उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए । ‘जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आरोपी फरार छन्, उनीहरुको खोजी भइरहेको छ’,उनले भने ।
टिप्पणीहरू