माओवादी नेताद्वारा भारतीय सैन्य अपरेसनको प्रशंसा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पाकिस्तानी आतंकवादविरुद्ध भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’को प्रशंसा गरेका छन् । अधिकांश नेताहरुले दुवै देशलाई संवाद गर्न सल्लाह दिँदै तटस्थ बनिरहेको बेला शर्मा भने भारतको पक्षमा खुलेका हुन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको पनि बताए । ‘भारतले आतंकवादविरुद्ध अपरेसन सिन्दुर सञ्चालन गरेको छ, आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो’, उनले लेखेका छन, ‘आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’
उता प्रतिनिधिसभाको बैठकमा सोही पार्टीका अर्का सांसद राजन दाहालले छिमेकी देशहरुमा उत्पन्न .समस्याबारे सरकारको आधिकारिक धारणाको माग गरेका छन् । पाकिस्तानी आतंकवादविरुद्ध भारतले सैन्य कारबाही गरेपछि विश्वका सबै देशहरुले आधिकारिक धारणा सार्वजनिक गरिरहेको, तर नेपालले स्पष्ट धारणा सार्वजनिक नगरेको उनको भनाई छ । ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु’, उनले भने ।
टिप्पणीहरू