माओवादी र रास्वपाका सांसदहरु नीति तथा कार्यक्रम पुनःसंरचनाको पक्षमा
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम पुनः संरचना गर्न माग गरेको छ । सांसद महेन्द्रबहादुर शाहीले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नीति तथा कार्यक्रममा भएका त्रुटी र कमजोरी सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले ल्याएको कार्यक्रमहरु अव्यवहारिक र असमावेशी रहेको शाहीको तर्क छ । ‘सरकारले नीति तथा कार्यक्रम त ल्यायो, तर समावेशीको नारा खोक्रो देखियो’, उनले भने, ‘भ्रष्टाचारीहरुलाई संरक्षण गरेर सुशासनको गफ दिनु विराधाभास भयो, नीति तथा कार्यक्रमलाई पुनः सरंचना गर्न सरकारको ध्यानाकर्षण गराउछु ।
पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले नीति तथा कार्यक्रममा दलित, महिला र अपांगलक्षित कार्यक्रम प्राथमिकतामा नपरेकोमा गुनासो पनि पोखे । ‘ठूला ठूला आयोजनाको नाम सुनाइयो, तर बजेट स्रोत नखुलाइनु शंकास्पद छ, त्यसैमाथि कर्णाली सधैँ हेपाहामा परेको भनिरहनु पर्दैन’, उनले थपे ।
शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्न पनि आग्रह गरे । राजनीतिक दबाब दिने नेताहरुमाथि पनि छानबिन गर्न उनको सल्लाह छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि नीति तथा कार्यक्रम सच्याउन सरकारलाई आग्रह गरे । ‘सरकारले ल्याएको कार्यक्रम अकर्मण्यतालाई स्वीकृति प्रदान गर्न कर्मकाण्डीय प्रक्रियाबाट प्रस्तुत भएको दस्तावेज मात्रै हो, पुनःसंरचना नगरे आर्थिक भारमात्रै थपिने पक्का छ’, उनले भने ।
टिप्पणीहरू