मधेसी माननीय पछि लागेर सिडियोलाई यसरी कवाडी बनाइयो

मधेसी माननीय पछि लागेर सिडियोलाई यसरी कवाडी बनाइयो

मधेशमा खुट्टा तान्नेभन्दा पनि काट्ने प्रवृत्ति वर्षौदेखि विद्यमान छ । जिल्लाबाट शक्ति र सत्तामा पहुँच बनाएकाहरु अनेक लफडामा पर्दै आएका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई गृह मन्त्रालय तानिएको घटनामा यस्तै प्रवृत्तिले भूमिका खेलेको चर्चा छ । 

मोटो रकम खर्चिएर समानुपातिक सांसद बनेका केही पात्रले राजनीतिमा तरक्की गर्दा जन्मजातै काँग्रेसको राजनीति गरेकाहरु भने घरमै थन्किन विवश छन् । यसमा किनबेचबाट उदाएका महोत्तरीका नगिना यादव,संगिता मण्डलहरुको नाम काफी छ । 

राजनीतिक पहुँच र प्रभाव देखाएर व्यक्तिगत लाभका लागि दौडादौड गर्नेहरु पछिल्लो पटक बूढानिलकण्ठ र मन्त्री निवासमा भैलो खेलेर सिडिओ लालबाबु कवारीलाई सरुवा गराउन सफल भएका छन् । 

नेपाल–भारत सीमासँगै जोडिएको महोत्तरीको मटियानीस्थित दशगजा क्षेत्रमा शहरी विकास मन्त्रालयको परियोजनाअन्तर्गत निर्माण हुन लागेको नालामा सिडिओ मुछिएको बताइन्छ । तर,स्थानीय केहीले भने मटियानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र काँग्रेसका एक स्थानीय ठेकेदार जयकुमार चौधरीबीचको राजनीतिक टकरावमा कवारीलाई तानिएको बताएका छन् ।

संघीयतामा मधेसी सिडिओलाई मधेसबाट लखेट्दा तपाईंलाई स्थानीयले विरोध गर्दैनन् ? भन्ने प्रश्नमा सांसद नागिनाले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिइन् । 

कांग्रेस सांसद नगिनाले केही दिनअघि संसद बैठकमा नाला निर्माण विवादमा सिडिओले प्रहरी लगाएर एक्सन नलिएका कारण स्थानीयको घर भत्काउनुपर्ने अवस्था बनेको दावी गरेकी थिइन् । त्यसकारण सिडिओलाई त्यहाँबाट फिर्ता बोलाउनुपर्ने उनको माग थियो ।  

तीनकुनेको राजावादी हिंसामा पत्रकारसहित दुई जना निर्दोष मारिँदा काठमाडौँका सिडिओ ऋषिराम तिवारीवारे केही नबोल्ने सांसदहरु कवारीलाई फिर्ता बोलाउन बेस्कन लागेका थिए । 

विगतका सिडिओहरुले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने र सरकारलाई सहज बनाइदिनेतिर मात्रै ध्यान केन्द्रित गर्दा स्थानीयको समस्या र सरोकारप्रति खासै चासो राख्दैनथे । उनीहरु सरकारको प्रतिनिधिका रुपमा मात्र प्रस्तुत हुँदा स्थानीय बेवास्तामा पर्ने गरेका थिए । तर, सोही माटोमा जन्मेका कवारी भने अपवाद थिए । भाषा भेषको समेत समानताका कारण स्थानीयले मन फुकाएर आफ्ना समस्या र गुनासा राख्न सक्थे । 

जलेश्वरका एक स्थानीयले बताए, ‘अरु जिल्लाबाट आउने सिडिओ सा'पहरुलाई यहाँको वातावरणमा घुलमिल हुनै समय लाग्थ्यो, उहाँ यहीँको स्थानीय भएकाले त्यस्तो समस्या थिएन ।' उनले चिनी र मिश्रीसँग तुलना गर्दै अगाडि भने, 'मिश्री पानीमा घुल्न टाइम लाग्छ,चिनी एकै छिनमा हुन्छ ।'

ती स्थानीयले जस्तै महोत्तरी-४ का निर्वाचित सांसद महेन्द्रकुमार रायले पनि सिडिओ सरुवा प्रकरणमा असन्तुष्टि जनाए । जनआस्थासँगको कुराकानीमा भने, ‘स्थानीयको समस्या समाधान गर्न उहाँले जुन पहल लिनुभयो,त्यो प्रशंसनीय छ । उहाँबारे जिल्लामा हामीले कुनै पनि किसिमको गुनासो सुनेनौं । हामीलाई पनि राम्रो रेस्पोन्स गर्नुहुन्थ्यो ।’

महोत्तरी कांग्रेसको दुई कार्यकाल सभापति रहिसकेका रायका अनुसार स्थानीयलाई अन्य नेतामार्फत सिडिओकहाँ पुग्नुपर्ने विगतको बाध्यता कवारीको ६ महिने कार्यकालमा अन्त्य भएको थियो । 

यता,कांग्रेसकै सांसद नागिनाले भने तत्कालिन सिडिओको असक्षमताले स्थानीयको घर भत्किने अवस्था आएको जिकिर दोहोर्याएकी छन् । नाला निर्माण रोक्नु भनेर जिल्ला अदालतले आदेश दिँदा पनि सिडिओले किन नटेरेको ?', जनआस्थासँग आक्रोशित हुँदै भनिन्, 'विगतमा पनि मैले जनताको कुरा नै संसदमा उठाउँदै आएको हो । यसमा पनि जनताको उठिवास लाग्ने भएपछि बल्ल बोलेको हो ।'

संघीयतामा मधेसी सिडिओलाई मधेसबाट लखेट्दा तपाईंलाई स्थानीयले विरोध गर्दैनन् ? भन्ने प्रश्नमा सांसद नागिनाले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिइन् ।  
त्यसो त मधेसका नेताहरुले आफ्नो ठाउँमा मधेसीभन्दा पहाडे प्रशासक आउँदा नै सहज मान्ने गरेको कैयौं उदाहरण छन् ।

टिप्पणीहरू