चार दर्जन नेपालीको युएईमा बिचल्ली

चार दर्जन नेपालीको युएईमा बिचल्ली

मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक दुई हजार नेपाली विदेशिइरहेका छन् । सुनौलो भविष्यको सपना बोकेर काम गर्न पराई देश पुगेका सबैले कमाउँछन् भन्ने छैन । केही रित्तो हात फर्किन्छन् भने केहीको त्यहीँ बिचल्ली हुने गरेको छ । पैसा कमाएर परिवारलाई राम्रो जिन्दगी दिने सोच राखेकाहरु अर्काको देशमा रुँदै हिँड्न बाध्य छन् । त्यतिबेला न उनीहरुलाई म्यानपावरले हेर्छ न सरकारले । 

वैदेशिक रोजगारीका लागि गत वर्ष युनाइटेड अरब ईमिरेट्स (युएई) गएका चार दर्जन बढी नेपालीको बिल्लीबाठ भएको छ । लाखौं रुपैयाँ खर्च गरेर गएका उनीहरुले कमाउनु त परको कुरा, बिहान बेलुका खान पनि पाएका छैनन् । उद्धारका लागि सरोकारवाला निकाय गुहारे पनि कतैबाट सुनुवाई नभएको गुनासो छ । 

भएको के हो ? 

काठमाडौंको बसुन्धरास्थित स्टारिस एचआर म्यानपावरबाट प्रक्रिया पुर्याएर सन् २०२४ डिसेम्बर २ मा ५० जना ड्राइभिङ्ग पेशाका लागि युएईको फुजेरा गए । जसमा राजन खनाल,अभिषेक कट्टेल,नविन श्रेष्ठ,जीवन कार्की, राजाराम अधिकारी,लक्ष्मण कामी,विरु चमार,कमल अर्याल,सुमन राई, तेजकुमार महतो,नसुरद्धिन मियाँ, राजकुमार राई,नेत्रबहादुर शाही,फर्मुला अन्सारी, सुवास नेपाल, भुपेन्द्र राजवंशी, उमानाथ अधिकारी, सन्देश राई, अविरल लामा, चित्रबहादुर गुरुङ्ग रहेका छन् । 

त्यसैगरी, रवि कोइराला, राजेन्द्र भट्ट, सुरेश नेपाली, खिमबहादुर सुनारी, तुलाराम विक, बलबहादुर थारु, मनोजजंग शाह, भूमिजंग खत्री, रविन्द्र पोखरेल, सोनम पुर्जामगर, नरेन्द्रबहादुर मगर, धावा सिन्तान लामा, उमेश कटुवाल, आकाश कार्की, आशिष पाण्डे, अशोक खाँण ठकुरी, प्रकाश पौडेल, प्रदीप अर्याल, प्रेमबहादुर ब्यञ्जन, सुरेव तामाङ्ग, महेश कार्की, चित्रबहादुर विक, कृष्णबहादुर जिम्बा, केशवकुमार राई, राजेन्द्र तामाङ्ग, मिलन विक, अजय गिरी, विश्वनाथ सुवेदी, महेश दराई पनि सोही म्यानपावरबाट गएका हुन् ।

कार्स, ट्याक्सी सर्भिसेज प्रालिमा काम गर्न गएका उनीहरुले म्यानपावरलाई जनही साढे तीनदेखि चार लाख रुपैयाँ बुझाएका थिए । मासिक एक हजार पाँच सय दिराम तलब पाउने सहमति भएकोमा उनीहरुको कार्यावधि दुई वर्षको थियो । त्यसपछि समय थप गर्न मिल्ने व्यवस्था पनि थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट श्रम स्वीकृतिसमेत लिएका उनीहरुले नेपाल फर्काइदिन हारगुहार गरिरहेका छन् । एक जनाले भने,‘एक हजार पाँच सय दिराम तलब हुने अफर लेटरमा उल्लेख छ । तर, अहिले पैसा नै दिँदैन । न खान बस्नकै सुविधा छ । फर्काइदेऊभन्दा पनि मान्दैन । हामी साह्रै समस्यामा परेका छौं ।’

"हामीले कहाँबाट त्यत्रो पैसा ल्याउने ? यहाँ आएपछि तीन सय दिराम आम्दानी भएको थियो । त्यो पनि कम्पनीले लोन भनेर काटिदियो । हामीसँग पैसा छैन, पासपोर्ट उनीहरुसँग छ । हामीलाई जसरी पनि नेपाल झिकाइदिए हुन्थ्यो भन्ने मात्र छ ।"

त्यहाँ पुगेको साढे दुई महिनापछि बल्लतल्ल लाइसेन्स निकाले । त्यसपछि काम गर्न थालेका उनीहरुले कम्पनीले भनेजति आम्दानी गर्न सकेनन् । भन्छन्,‘सानो शहरमा ट्याक्सी धेरै छ । यात्रु पाउनै गाह्रो हुन्छ । हामीले उनीहरुले भनेजति आम्दानी गर्न सकेनौं । त्यसैले तलब दिएनन् ।’ खाने, बस्ने, पेट्रोल खर्च, गाडी भाडा, उपचारलगायतको खर्च कम्पनीले व्यहोर्ने सम्झौता पत्रमा लेखिएको छ । तर, कम्पनीले उनीहरुलाई बेवास्ता गरेको छ । परिवारबाट पैसा मागेर गुजारा चलाउनु परिरहेको गुनासो छ । 

आफूहरु समस्यामा परेपछि उनीहरुले युएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए), त्यहाँ रहेको नेपाली राजदूतावास र श्रम मन्त्रालय गुहारेका थिए । गएको अप्रिल २१ मा उनीहरुले ‘सम्झौता कार्यान्वयन तथा क्षतिपूर्ति मागदाबी गरिदिन’ आग्रह गर्दै ती निकायलाई पत्र लेखे । एनआरएनएले समस्या समाधान गरिदिन भन्दै सो पत्र राजदूतावासलाई फरवार्ड गरिदियो, राजदूतावासले कम्पनीलाई । त्यसपछि कम्पनीले उनीहरुलाई वार्तामा बोलायो । १० हजार दिराम नतिरिकन नेपाल नफर्काउने चेतावनी दिएको उनीहरुको भनाइ छ । 

भन्छन्,‘हामीलाई कम्पनीले बोलाएपछि गयौं । १० हजार दिराम तिर अनि जा भन्छ । हामीले कहाँबाट त्यत्रो पैसा ल्याउने ? यहाँ आएपछि तीन सय दिराम आम्दानी भएको थियो । त्योपनि कम्पनीले लोन भनेर काटिदियो । हामीसँग पैसा छैन्, पासपोर्ट उनीहरुसँग छ । हामीलाई जसरी पनि नेपाल झिकाइदिए हुन्थ्यो भन्ने मात्र छ ।’ राजदूतावासले आफ्ना समस्यालाई गम्भीर रुपमा नलिएको उनीहरुको गुनासो छ । 

उनीहरुले कम्पनीलाई गाडी बुझाइसकेका छन् । जसका कारण कमाउने माध्यम बन्द भएको छ । ‘तलब नपाएपछि हामी काम गर्दैनौं, नेपाल फर्किन्छौं भनेर कम्पनीलाई गाडीको चाबी बुझायौं । अहिले हाम्रो खाने बस्ने बाटो नै बन्द भयो । ६ महिना भइसक्यो, घरबाट पैसा मागेर गुजारा चलाइरहेको । के गर्ने होला भनेर तनावमा छौं’,उनीहरुले दुःखेसो पोखे । 

म्यानपावरको बेवास्ता, एकको मृत्यु 

उनीहरुसँगै काम गर्न गएका एक जनाको मृत्यु भएको छ । मृत्युको कारण अहिलेसम्म खुलेको छैन । कम्पनीलाई बुझिदिन आग्रह गर्दा प्रहरीलाई रिपोर्ट गर्न भनेको पीडितहरु बताउँछन् । यता, म्यानपावरले पनि बेवास्ता गरेको अवस्था छ । उनीहरुका अनुसार न फोन गर्दा उठाउँछ न म्यासेजको रिप्लाई दिन्छ । 

भन्छन्,‘म्यानपावरले चाह्यो भने हामीलाई यहाँबाट निकाल्न सक्छ । तर, फोन गर्दा र म्यासेज पठाउँदा पनि कुनै रेस्पोन्स नै छैन ।’

टिप्पणीहरू