पूर्व राजाकै शैलीमा सुवेदीको नमस्कार, महानगरको पत्रबाट ज्ञानेन्द्रको नाम हटाउन माग
राजसंस्था पुर्नस्थापनाको माग राख्दै राजावादीहरुले काठमाडौँमा मोटरसाइकल जुलुस निकालेका छन् ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोल समिति' को अगुवाईमा सुकेधारदेखि बल्खुसम्म र्याली गरिएको हो । सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलगायतका राजावादी नेता र्यालीमा सामेल थिए ।
थापा र पाण्डे नेता-कार्यकर्तासँगै मोटरसाइकलमा बल्खु पुग्दा ८६ वर्षे सुवेदीलाई भने गाडीमा लगिएको थियो । र्यालीको सबैभन्दा अगाडि गाडीमा चढेका उनले झ्याल (माथिपट्टीको)बाट पूर्वराजाकै शैलीमा अभिवादन गरेका थिए ।
चैत १५ को तीनकुने घटनापछि सुस्ताएका राजावादीहरुले जेठ १५ गतेदेखि जनआन्दोलनको घोषणा गरेका छन् । त्यसको तयारीस्वरूप निरन्तर र्याली गर्ने उनीहरुको योजना छ ।
हिजो पत्रकार सम्मेलनमा केही दिनको लागि मोटरसाइकल भाडामै लिएर भए पनि आन्दोलनमा आउन कमल थापाले निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘देशभरका जनता घरघरबाट सडकमा निस्कनुस् । यो साझा आन्दोलन हो । मोटरसाइकल भाडामै लिएर भए पनि आन्दोलनमा आउनुस् ।’
यसैबीच, पूर्वराजाको तर्फबाट काठमाडौँ महानगरपालिकालाई बुझाउनुपर्ने जरिवाना समितिले तत्काल नबुझाउने भएको छ । चैत १५ गते तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भौतिक संरचनामा तोडफोड गरेको र सडक ओहोर पारेको भन्दै महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।
उक्त जरिवानाका लागि विदेशमा बस्ने राजावादीहरुले अभियान चलाएर जम्मा गरेको ८ लाख ३९ हजार रकम हिजो संयोजक सुवेदीलाई हस्तान्तरण गरिएको थियो । तर, महानगरले जरिवाना पत्रमा ज्ञानेन्द्रको नाम नहटाएसम्म रकम नतिर्ने समितिको अडान छ ।
टिप्पणीहरू