पाकिस्तानमा भएका नेपालीसँग निरन्तर सम्पर्क
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा नागरिकसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ । नेपालीको सुरक्षा तथा हित सुनिश्चिततातर्फ पूर्ण रुपमा सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले नेपालीहरुसँग निरन्तर सम्पर्क गर्ने काम भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कसैलाई सहयोगको आवश्यकता परेमा इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सूचित गराएको छ । तृतीय सचिव वृन्दा सुवेदी खड्काको फोन नम्बर ३३१३२९३११९ वा आर्सलान मेहमुदको ३४०५१७४२६१ मा सम्पर्क गर्न भनिएको छ ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निम्ति पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ’,विज्ञप्तिमा उल्लेख छ ।
भारतीय जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलापछि दुई मुलुक युद्धमा होमिएका छन् । युद्धका कारण भारतको उत्तर पश्चिमका २५ वटा विमानस्थल बन्द गरिएको छ । यता, पाकिस्तानमाथिको आकाशमा प्रतिबन्ध लगाइएको छ ।

टिप्पणीहरू