भारतमा रहेका नेपालीलाई सचेत रहन आग्रह, पाकिस्तानबाट फर्काउन माग

भारतमा रहेका नेपालीलाई सचेत रहन आग्रह, पाकिस्तानबाट फर्काउन माग

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । भारतीय जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त गर्न सकिने स्थानमा बस्न सूचित गराएको छ । 

दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षासम्बन्धी निर्देशनहरु पालना गर्न आग्रह गरेको छ । ‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँ दिल्ली अनुरोध गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, आपतकालीन अवस्थामा दूतावासको टेलिफोन नम्बर ९१–११ २३४७६२००, हटलाइन नम्बर ९१–८९२९६०१९२५ वा नेपाली महावाणिज्य दूतावासको टेलिफोन नम्बर ९१–०३२४५६१२२४ तथा मोबाइल नम्बर ९१–९७४८४६६९०० मा सम्पर्क गर्न भनिएको छ । 

छिमेकी दुई मुलुकबीच युद्ध शुरु भएपछि परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीलाई पनि सचेत रहन आग्रह गरेको छ । रास्वपा सांसदले भने पाकिस्तानमा रहेका नेपाली विद्यार्थीलाई फर्काउन माग गरेका छन् । सांसद सुमना श्रेष्ठले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीलाई मुलुक फर्किने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाउँदै पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरुको ज्यानको सुरक्षा गर्न र मुलुक फर्किने वातावरण बनाउन उनले आग्रह गरेकी हुन् । पाकिस्तानको लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवलजस्ता ठाउँमा एमबीबीएस पढ्दै गरेका ८० भन्दा बढी नेपाली विद्यार्थीले इमेल पठाएर ज्यानको सुरक्षाका लागि आग्रह गरेको उनको भनाइ छ । 

त्यसैगरी, सांसद श्रेष्ठले विद्यार्थीको उद्धारका लागि मन्त्रालयको योजना के छ ? भन्दै प्रश्न गरेकी छन् । अगाडि लेखेकी छिन्,‘यस्तो अवस्थामा विद्यार्थीको उद्धारसम्बन्धी मन्त्रालयले के कस्तो योजना बनाएको छ ? इजरायलमा जस्तै चार्टर्ड फ्लाइट गरिन्छ भने कुन अवस्थामा गरिनेछ ? यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्ने खानेको व्यवस्था आदि तयारी के कस्तो हुनेछ ? यसबारे जानकारीको माग गर्दछु ।’ 

भारतीय जम्मू–कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलापछि दुई मुलुक युद्धमा होमिएका छन् । भारतले उत्तर पश्चिम क्षेत्रका २५ वटा विमानस्थल बन्द गरेको छ । यता, पाकिस्तानमाथिको आकाशमा पनि प्रतिबन्ध लगाइएको छ । जसका कारण नेपाली विद्यार्थीलाई स्वदेश फर्किन थप समस्या हुने बताइन्छ ।

टिप्पणीहरू