यसरी पनि शपथ खाने हो ?

यसरी पनि शपथ खाने हो ?

नेकपा (एमाले) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृति ‘नार्सिसिस्ट’ प्रकृतिको छ भन्ने आरोप पुरानै हो । सार्वजनिक सभा-समारोहमा उहाँको हाउभाउ,प्रस्तुति र अभिव्यक्तिले त्यस्ता आरोपलाई बल पुर्याइरहेको हुन्छ । ओली हिजो यौटा सार्वजनिक समारोहमा त्यसैगरी प्रस्तुत हुनुभयो । 

दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको शपथ ग्रहण समारोह आयोजना गरिएको थियो । समारोहमा शिक्षामन्त्री रघुजी पन्त, उर्जामन्त्री दिपक खड्का,विश्वविद्यालय पदाधिकारीलगायत उच्चपदस्थहरु सहभागी थिए । 

शुरुमा शिक्षामन्त्री पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्कीलाई शपथ खुवाए । त्यसपछि क्रमश: अध्यक्ष कार्कीले उपकुलपति प्रा.डा रमेशकुमार ढुंगेललाई र उपकुलपति ढुंगेलले रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई पद तथा गोपनीयताको सपथ गराए । तर, शपथ ग्रहण चलिरहँदा प्रम ओली भने कुर्सीमा गजधम्म बसिरहनुभयो ।

स्रोतका अनुसार सपथ चलिरहँदा त्यहाँ सहभागी सबै कुर्सीबाट उठेका थिए, तर प्रधानमन्त्री ओली भने टसमस हुनुभएन । सरकारी सञ्चारमाध्यम (रासस) ले सार्वजनिक गरेको फोटोमा पनि प्रधानमन्त्री ओली कुर्सीबाट नउठेको प्रष्टै देखिन्छ । 

‘कि प्रधानमन्त्रीलाई शिष्टाचार सिकाउनुपर्थ्यो,कि सपथ बहिष्कार गरेर हिँड्नुपथ्र्यो, यी दुवै नभएपछि प्रा.डा.को के अर्थ ?’

यसरी, विश्वविद्यालयका अध्यक्ष, उपकुलपति र रजिष्ट्रायको शपथ चलिरहँदा प्रधानमन्त्री कुर्सीबाट नउठेपछि प्राज्ञिक वर्गले चित्त दुखाएको पाइयो । कतिपयले प्रम ओलीलाई ‘शिष्टाचारहीन’ समेत भनेका छन् । 

त्रिभुवन विश्वविद्यालयका एक उपप्राध्यापकले धेरै घमण्डी र अहंकारी नबन्न प्रधानमन्त्रीलाई सल्लाह दिएका छन् । ‘यतिसम्मको घमण्डी पनि नबन्नुस् प्रधानमन्त्रीज्यू’, नाम चलेको लेखकसमेत रहेका उनले भनेका छन्, ‘उनीहरु (पदाधिकारी) यो देशका बौद्धिक सम्पति हुन्, कदर गर्न सिक्नुहोस् ।’

त्रिविकै अर्का एक उपप्राध्यापकले पनि प्रधानमन्त्री ओलीको मानसिकतामा गम्भीर समस्या देखिएको टिप्पणी गरेका छन् । उनको प्रतिक्रिया छ, ‘प्रधानमन्त्रीज्यूको मस्तिष्कमा गम्भीर समस्या देखियो । अरुलाई मान्छे नै नगन्ने,सम्मान गर्न नजान्ने प्रवृतिले एकदिन आफैलाई हानी पुर्याउँछ है।’

एक लेखकले भने केही फरक विचार राखेका छन् । प्रधानमन्त्री ओलीको असहिष्णुताको साक्षी बनेर शपथ लिने पदाधिकारीहरुकै गल्ती भएको उनको तर्क छ । 

‘कि प्रधानमन्त्रीलाई शिष्टाचार सिकाउनुपर्थ्यो,कि सपथ बहिष्कार गरेर हिँड्नुपथ्र्यो, यी दुवै नभएपछि प्रा.डा.को के अर्थ ?’, उनको चिन्ता छ, ‘नेपालमा अनुशासन, नैतिकतता र शिष्टाचारको डरलाग्दो खडेरी देखियो, प्रधानमन्त्री ओलीमा त झन् धेरै ।’

टिप्पणीहरू