खर्च घटाउन राष्ट्रपति र उपराष्ट्रपति कार्यालयतिर आँखा
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा कर्मचारी कटौती गर्न प्रस्ताव गरेका छन् । आजको प्रतिनिभिसभा बैठकमा बोल्दै उनले राज्यलाई आर्थिक भार कम गर्न सरकारी कार्यालयमा कर्मचारी घटाउनुपर्ने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रममाथि धारणा राख्दै सरकारले खर्च कम गर्ने कुनै योजना नबनाएको टिप्पणी गरे ।
‘सार्वजनिक ऋण अहिले २६ खर्बभन्दा बढी पुगेको छ, राजश्वले साधारण खर्चसमेत धान्न सक्ने अवस्था छैन’, उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निवास फरक हुने, तर कर्मचारी एउटै हुने व्यवस्था गरौँ, अन्य निकायमा पनि समायोजन गरेर आर्थिक भार कम गर्न सकिन्छ ।’
सांसद खतिवडाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई केही बदल्नुपर्नेमा पनि जोड दिएका छन् ।
‘अहिलेको निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठिरहेका छन्, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, अब संविधान संशोधन गरेर पहिले संघको निर्वाचन गर्ने, त्यसपछि प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने व्यवस्था गरौँ’, उनले थपे
टिप्पणीहरू