पूर्व एमालेहरु एमालेमाथि खनिए

पूर्व एमालेहरु एमालेमाथि खनिए

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस–एमाले गठबन्धन सरकार भ्रष्टाचार लुकाउन बनेको दाबी गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको घोराही पुगेर उनले भ्रष्टाचारका फाइल दबाउन बालकोट र बूढानिलकण्ठको मिलन भएको बताए । भूटानी शरणार्थी र गिरीबन्धु प्रकरणलाई छोपछाप पार्न दुई ठूला पार्टी मिलेको आशंका पाण्डेले गरे । 

'यो सरकार देश र जनताको हितका लागि होइन । नेता र कार्यकर्ताहरूको स्वार्थपूर्तिका लागि बनेको हो । भ्रष्टाचारका फाइल खोल्न होइन,बन्द गर्न उनीहरु (काँग्रेस र एमाले) एक भएका हुन्', उनले भने ।

उपाध्यक्ष प्रकाश ज्वालाले पनि सरकारको आलोचना गर्दै सत्तामा रहेका नेता,कार्यकर्ता र कर्मचारीहरूको सम्पत्ति सार्वजनिक गर्ने हिम्मत देखाउन सरकारलाई चुनौती दिए । उनले यौटै प्रकृतिका मुद्दामा रवि लामिछानेलाई जेल पठाइने र सत्तापक्षका व्यक्तिहरू सजिलै उम्किने कुरा गलत र प्रतिशोधपूर्ण रहेको टिप्पणी गरे ।

आफ्नै पार्टीको दुई तिहाइ बहुमत हुँदा संविधान संशोधन र समावेशी पुनःसंरचना गर्ने अवसर ओलीले गुमाइसकेको महासचिव घनश्याम भुसालको भनाई रह्यो । 'ओलीले संसद विघटन,दल विभाजनजस्ता कार्य गरेर देशलाई पछाडि धकेले', उनले दावाका साथ भने ।

उपमहासचिव तथा सोही क्षेत्रका सांसद मेटमणि चौधरीले समाजवादी पार्टीले मात्र देशको नेतृत्व गर्न सक्ने जिकिर गर्दै कांग्रेस र एमालेको आलोचना गरे । 'कांग्रेसले प्रजातन्त्रको मुद्दा बोकेको हो, त्यो पूरा भइसकेको छ । अहिलेको गणतान्त्रिक अवस्थामा कांग्रेसको आवश्यकता छैन', उनले भने । 

एमाले नीति निर्माणको नाममा संस्थागत भ्रष्टाचारमा लिप्त रहेको र जनताप्रति उत्तरदायी हुन नसकेको चौधरीको आरोप छ ।

प्रदेश अध्यक्ष तथा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेले पनि अरु पार्टीभन्दा एकीकृत समाजवादी नै अब्बल रहेको उल्लेख गरे । नेपाली विशेषताको समाजवादलाई महाधिवेशनबाट पारित गरी समृद्धिको यात्रामा पार्टी अघि बढिरहेको उनको कथन छ ।

सोही अवसरमा एमाले परित्याग गरी ५५ जना नेकपा एसमा प्रवेश गरेको बताइएको छ ।
 

टिप्पणीहरू