बिचौलिया शब्दलाई सस्तो बनाइएकोमा प्रधानमन्त्रीको चित्त दुखाई
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट २० मीटर (दायाँबायाँ)सम्म संरचना बनाउन नपाइने मापदण्ड बनाउँदा घरहरु नै बाँकी नरहने विश्लेषण गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उहाँले ‘होशमा आउन’ सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँका नदी तथा खोला किनारबाट २० मीटरको मापदण्ड कायम राख्नुपर्ने सर्वोच्चको फैसलापछि महानगरका मेयर बालेन साहले उक्त मापदण्डभित्र बनिरहेका संरचनाको निर्माण कार्य तत्काल रोक्न आदेश दिएका थिए । यद्यपि, सरकारले फैसलाको पुनरावलोकन गर्न निवेदन दिएपछि अहिले उक्त मुद्दा विचाराधीन छ । सोही पृष्ठभूमिमा प्रधानमन्त्री ओली पनि २० मीटरको मापदण्ड सम्भव नरहेको बताउनुभएको हो । ‘हौसिएर हुँदैन, २० मिटर राख्दा के कति संरचना भत्काउनुपर्छ त्यसको विचार गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कतिपयको नम्बरी जग्गा होला, त्यसमा घर बनेका होलान्, त्यसको क्षतिपूर्ती सरकारले दिन सक्छ कि सक्दैन भन्ने कुराको विचार गर्नुपर्छ ।’
नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका ओलीले मेयर बालेनलाई कटाक्ष गर्दै ‘संसदमा सामाजिक सञ्जालमा जस्तो सस्तो टिप्पणी नगर्न’ सांसदहरुलाई आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले फरक प्रसंगमा विपक्षी नेताहरुले ‘बिचौलिया’ शब्दको जथाभावी प्रयोग गरेकोमा आपत्ति समेत जनाउनुभयो । ‘अहिले त जता पनि बिचौलिया छ, यसो घरमा अलिकति ठोकठाक हुनबित्तिकै तँ बिचौलिया भन्ने अवस्था आयो, यो शब्दको अलि सस्तो प्रयोग गर्न थालियो कि, यो राम्रो होइन’, उहाँले थप्नुभयो ।
टिप्पणीहरू