हिजो ‘नक्कली राजा’, आज ‘कायर’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘कायर’को संज्ञा दिनुभएको छ । हिजो पूर्व (धरान)बाट ‘नक्कली राजा’ भनेर कडा आलोचना गर्नुभएका उहाँले आज कर्णाली (सुर्खेत)बाट ‘कायर’ भन्नुभएको हो ।
पार्टी निकट वाइसिएलको कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नै आँखा अगाडि भएको दरबार हत्याकाण्डको छानविन गर्न ज्ञानेन्द्रसँग आँट नै नभएको बताउनुभयो ।
‘त्यस्तालाई राजा मान्नुपर्ने ? आफ्नै राजा र राजपरिवारको हत्या हुँदा हत्यारा पत्ता लगाउने कुरामा आँ पनि गर्न नसक्ने यिनीहरु कायर हुन्, यिनीहरुको घुर्कीविरुद्ध जनताले कडा प्रतिवाद गर्नैपर्छ’, उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रतिगामी शक्तिविरुद्ध नागरिकले आफ्नो कदम घर घरबाट बाहिर निकाल्नुपर्ने पनि बताउनुभयो । अघि भन्नुभयो, ‘अहिले फेरि राजा ल्याउने भनेर जेठ १५ गते आन्दोलन गर्ने भनेका छन्, तर उनीहरुको त्यो गतिविधिलाई निस्तेज पार्न प्रत्येक गाउँ, टोल र घरघरबाट कदम चाल्नुपर्नेछ, उनीहरुको प्रतिगामी षड्यन्त्रको भण्डाफोर गर्नैपर्नेछ ।’
फरक प्रसंगमा प्रचण्डले दुई वटा हतियारको सहयताले जनयुद्ध शुर गरेको स्मरणसमेत गर्नुभयो । कर्णालीका जनतासँग पुरानो प्रेम कायमै रहेको बताउँदै थप्नुभयो, ‘जनयुद्ध सुरु हुँदा हामीसँग दुई वटा मात्र हतियार थिए, कर्णालीकै योद्धाहरूले राज्यका हतियार कब्जा गरेर बुझाएपछि हामीसँग पर्याप्त हतियार भए ।’
टिप्पणीहरू