निलमलाई आपत, हरिहर देवबाट सिक्न सुझाव
राष्ट्र बैंकको गभर्नर नियुक्तिवाला खेलोफड्को नयाँ चरणमा प्रवेश गरेपछि हाल कायम मुकाय गभर्नरको जिम्मेवारीमा रहेकी निलम ढुंगाना तिम्सिना सबैभन्दा अप्ठेरोमा परेकी छन् । आफू नै १८ औं गभर्नर हुनेमा ढुक्क उनी त्यो सम्भावना क्षिण भएसँगै डेपुटीको पाँच वर्षे कार्यकाल सकिनु १० महिना अगावै राजीनामा दिनुपर्ने परिस्थिति उत्पन्न भएको छ ।
डेपुटीमा चार वर्षअघि नियुक्त हुँदा वरिष्ठ तथा क्षमतावान कार्यकारी निर्देशकहरुलाई हुत्याएकी उनलाई अहिले अर्को परिस्थितिले साथ दिन नलागेको देखिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा काँग्रेसले सिफारिस गरेकालाई नियुक्त गर्ने सहमतिलगत्तै उनको सम्भावना शून्य भएको हो । काँग्रेसले पहिले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र अहिले विश्व पौडेललाई अघि सारेको छ । कनिष्ठलाई गभर्नर बनाएको भन्दै भट्टको राजीनामा स्वीकृत नगरेकी उनलाई नयाँ गभर्नरमा जोसुकै नियुक्त भएपनि पदमा बसिरहन अप्ठेरो हुने एक जना पूर्व गभर्नरले बताए ।
ती गभर्नरले निलमलाई उनी बैंकमा प्रवेश गर्नुअघिको एउटा घटनाक्रमबारे अध्ययन गर्न सुझाएका छन् । भन्छन्, ‘तत्कालीन काँग्रेस सरकारले नियुक्त गरेका गभर्नर हरिशंकर त्रिपाठी एमालेको नौ महिने सरकार गठनलगत्तै राजीनामा दिन बाध्य हुनुभयो । त्यसपछि एमालेले कनिष्ठ डेपुटी सत्येन्द्रप्यारा श्रेष्ठलाई गभर्नरमा नियुक्त गर्न लागेपछि वरिष्ठ डा. पन्त राजीनामा दिएर बाहिरिनुभयो । भलै उहाँ भूतपूर्व डेपुटी गभर्नरको नामले भन्दा नेपाली लघुवित्तमा ‘युनुस’ नामले प्रख्यात भएर केही वर्षअघि बित्नुभयो ।’
डेपुटीमा निलमको कार्यकाल आगामी फागुन तेस्रो सातासम्म छ । यसबीच लगभग गभर्नरको हैसियतमा कायम मुकायमको जिम्मेवारी निर्वाह गरेकी उनलाई नयाँ गभर्नर आउनेबित्तिक्कै नियमित काम गर्न पनि अप्ठ्यारो हुने निश्चित छ । बैंक तथा वित्तीय संस्थाका सिईओ तथा अध्यक्षले पनि ओठेभक्ति बाहेक केही नगर्ने अवस्था छ । बैंक भित्रैका अधिकांश कर्मचारीहरुले पनि म्याडमलाई ‘खुच्चिङ’ भन्नेछन् । त्यसमा सबैभन्दा धेरै महिला हाकिमहरु अगाडि छन् ।
म्याडमको ठ्याक्कै भन्दिहाल्ने कार्यशैली र व्यवहारलाई लिएर महिला निर्देशकहरुले ‘सौतेनी सासू’को संज्ञा दिनुले पनि कायम मुकायमको जिम्मेवारीबाट डेपुटीमा झर्दा उनीहरुको मनोबलले कस्तो काम गर्ला ? अर्कोतर्फ सहकर्मी डेपुटी बमबहादुर मिश्रसँग झण्डै डेड वर्षदेखि बोलचाल बन्दको अवस्थामा अर्कैले गभर्नर पड्काउँदा मिश्र पनि गद्गद् नहुने कुरो भएन । भलै मिश्रसमेत गभर्नरको रेसमा गत सातासम्म थिए । सबै परिस्थिति बुझेपछि उनी छोरीको दीक्षान्त समारोहमा भाग लिन सपरिवार अमेरिका उडे । उनी यो सप्ताहन्तमा काठमाडौं आउने कार्यक्रम रहेको बताइन्छ ।
टिप्पणीहरू