हिरासतभित्र रवीन्द्र मिश्र: दाह्री फुल्यो, नेतृत्वसँग चर्को आक्रोश
फाइल फोटो
चैत १५ गतेको राजावादी हिंसामा संलग्न रहेको अभियोगमा पक्राउ परी ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘पार्टी जीवित नै छ कि मरिसक्यो ?’ भनेर उनले दु:खेसो पोखेको हालै भेटेर फर्किएका राप्रपाका एक नेताले बताए ।
उनका अनुसार सँगै समातिएका महामन्त्री धवलशमशेर राणा हाजिर-जमानीमा छुटेपछि हिरासतभित्र एक्लो बनेका मिश्र नेतृत्वप्रति निकै रुष्ट छन् । पक्राउ परेदेखि दाह्रीसमेत नकाटेका उनी निकै उदास देखिएको ती नेता बताउँछन् ।
‘पार्टीले मेरो लागि केही गरेन भन्दै नेतृत्वप्रति असन्तुष्ट देखिनुभयाे’, उनले भने, ‘दाह्री पनि काट्नुभएको रहेनछ, झुस्स सेता दारी फुलेको छ, मेलै स्वास्थ्यको ख्याल गर्नुहोला भनेँ ।’
भेटमा मिश्रलाई तीनकुने घटनामा पक्राउ परेर हाल हिरासतमा रहेका सबै नेता-कार्यकर्ताको लागि राप्रपाले कानुनी लडाइँ लड्ने घोषणा गरेकोबारे आफूले जानकारी गराएकाे ती नेताले सुनाए । ‘तर उहाँ (मिश्र)ले पार्टीको भर्खर बुद्धि आएछ ? ५० दिनसम्म साथीहरुको बुद्धि कहाँ थियो रे ! भन्नुभयो’, उनले सुनाए ।
मिश्र र नेपाली सेनाका पूर्व क्याप्टेन तथा रोयल टास्क फोर्सका कमाण्डर मुनिन्द्रराज भण्डारीलगायतलाई म्याद थपको लागि आज अदालत लैजान लागिएको कारण २० मिनेटजति मात्रै भेट भएको ती नेताले जानकारी दिए ।
टिप्पणीहरू