जग्गादान लिनुको कारण खुलाउँदै पैसा उठाउने कुराको कटाक्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय बनाउन व्यवसायीसँग जग्गादान लिनुको कारण खुलाउनुभएको छ । काभ्रेको बनेपा नगरपालिका-१० मा निर्माण हुन लागेको सिनेपा (चलचित्र छायाँकन स्टुडियो)को शिलान्यास गर्दै उहाँले एक- एक रुपैयाँ उठाएर पार्टी कार्यालय बनाउन सम्भव नहुने बताउनुभएको हो ।
कतिपय कुराहरु सुन्दा राम्रो लाग्ने, तर प्रयोगमा ल्याउन कठिन हुने प्रधानमन्त्री ओलीको अनुभव छ । ‘एक दुई जना साथीभाईहरु साना कुरामा बहुत हौसिन्छन्, हामी छौ, चन्दा उठाउँछौ भन्छन्, तर त्यो व्यवहारमा सफल हुन गाह्रो हुन्छ’, उहाँले भन्नुभयाे, ‘अस्ति हाम्रो अफिसमा एक एक रुपैयाँ उठाएर भए पनि पार्टी कार्यालय बनाउछौँ भन्नेहरु पनि निस्किए, एक एक रुपैयाँमा पार्टी अफिस बनाउने रे...त्यो एक एक रुपैयाँको चन्दा कहाँबाट ल्याउने ? अचेल एक रुपैया कसैले साटिदिन्छन् र ?’
एमाले कार्यालय भवन बनाउन भाटभटेनीका सुपरस्टोरका मालिक मीनबहादुर गुरुङबाट करोडौँ मूल्य पर्ने जग्गादान लिने निर्णयको पार्टीभित्रै विरोध भएको थियो । विवादास्पद व्यापारीबाट सहयोग लिएर कार्यालय बनाउन नहुने धारणा राखेवापत स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना निलम्बनको कारवाही भोगिरहेका छन् । उनीहरुले कार्यकर्ताबाट एक/एक रुपैयाँ चन्दा उठाएर पनि बनाउन सकिने अभिव्यक्ति दिएका थिए।
सभा समारोहमा भाषण गर्दा विषयकेन्द्रीत हुन नसक्ने प्रधानमन्त्री ओलीले घुमाउरो भाषामा मुलुकको अर्थतन्त्र संकटमा पर्दै गएको संकेत पनि दिनुभयो । अरुबेला ‘अर्थतन्त्र सुधारन्मुख र लयमा छ’ भन्ने उहाँले आज भने आफैँ अर्थतन्त्र संकटमा पर्दै गएको आशय व्यक्त गर्नुभएको हो ।
‘तीन वर्षअघि मैले जहाँ गाडी रोकेको थिएँ, त्योभन्दा एक कदम अघि बढेको रहेनछ, अहिले फेरि त्यहिँबाट अघि बढ्नुपर्ने अवस्था छ’, उहाँले थप्नुभयाे, ‘खल्तीमा पैसा भए पो आँट आउँछ, राज्यको ढुकुटी रित्तो छ, पैसा सकिएको छ, काम भएका छैनन्, त्यसैले अचेल मैले पनि त्यो गर्छु, यो गर्छु भन्या छैन ,पैसा भए पो आँट आउछ ! ’
टिप्पणीहरू