माओवादी अर्थमन्त्री खोज्ने, राप्रपा व्यङ्ग्य कस्ने

माओवादी अर्थमन्त्री खोज्ने, राप्रपा व्यङ्ग्य कस्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलको खोजी गरेको छ । प्रमुख सचेतक हितराज पाण्डेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)बारे छलफल चलेपछि अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने नियमावली भए पनि लागू नभएकोमा नियमापत्ति जनाएका हुन् । 

‘संसद्को नियमावली २०७९ को ६ को ५ मा संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकतामाथि छलफल गर्दा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उल्लेख छ’, उनले भने, ‘उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यू पनि यहाँ हुनुपर्ने थियो, तर देखिनँ । उहाँलाई उपस्थित गराएर मात्र सदनलाई अघि बढाइयोस् ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भने अर्थमन्त्रीको उपस्थिति हुनु र नहुनुले सदनलाई कुनै फरक नपर्ने भन्दै कटाक्ष गरे । ‘अर्थमन्त्रीज्यू बैठकमा हुनु र नहुनुमा केही फरक पर्दैन । हिजो उपस्थित भए पनि सुतिराख्नुभएको थियो, त्यसकारण उहाँ हुनु र नहुनुले केही फरक पर्दैन माननीयज्यू !’, उनले भने ।  

हिजो संसद बैठक चलिरहँदा अर्थमन्त्री पौडेल सिटमा बसेकै अवस्थामा निदाएको फोटो र भिडियो सार्वजनिक भएको थियो ।

टिप्पणीहरू