देश अप्ठेरोमा परेको वामदेवको दाबी
राष्ट्रिय सभा सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा उनले अहिलेको राजनीतिक परिवर्तनका संवाहक शक्ति कांग्रेस र कम्युनिष्ट मिलेर समाजवाद ल्याउनुपर्ने बताएका हुन् । दश वर्षअघि जारी भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरुले केही पनि गर्न नसकेका कारण समस्या निम्तिएको वामदेवको ठहर छ ।
‘यो व्यवस्था ल्याउने नेपाली काँग्रेस र कम्युनिष्ट नै हुन् एकतावद्ध भएर समाजवाद घोषणा गर जुन समाजवाद परिकल्पना गरिएको थियो संविधानमा उल्लेख गरिएको समाजवाद । ढिला नगरी हामीले त्यो काम शुरु गर्नुपर्छ’, उनी भन्छन् ।
प्रमुख राजनीतिक दल र सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा पैदा भएको वामदेवको दाबी छ । नेताहरूले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा व्यवस्था विरोधी शक्तिले ठाउँ पाएको उल्लेख गर्दै उनले भने, ‘संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवादउन्मुख राज्य निर्माण गर्ने भन्या छ, र त्यो समाजवादउन्मुख सबै नेताहरुको मुखमुखमा झुन्डिएको छ तर समाजवाद बन्न सकेन । गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ इमान्दारीका साथ भन्नुस् हाम्रो विरुद्ध चर्चा छ, यो व्यवस्थाको विरुद्ध चर्चा छ ।’
त्यहि भएर व्यवस्था जोगाउन पनि समाजवाद घोषणा गर्नुपर्ने धारणा वामदेवले राखेका छन् । आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो पनि उनले गरे ।
टिप्पणीहरू