अविवाहितसँग बढी कर लिइएकोमा महिला माननीयको आपत्ति

अविवाहितसँग बढी कर लिइएकोमा महिला माननीयको आपत्ति

सत्तारुढ साझेदार दल नेपाली कांग्रेसकी सांसद सुशिला थिङले विवाहित र अविवाहितहरुमाथि करमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कर विभेदमा सरकारलाई लाज लाग्नुपर्ने बताइन् । 

विभेदकारी कर खारेज गर्नुपर्ने राख्दै भनिन्, ‘राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाउँदै बढी कर लगाउँदै आएको छ । के राज्यले अविवाहितलाई कर लगाउनेबाहेक अन्य कुनै करको दायरा भेटेनछ ?’ थिङले राज्यलाई विभेदकारी कर उठाउन लाज नलागे, अविवाहितबाट बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहितहरू आफ्नो कमाइ राज्यलाई बुझाउन तयार रहेको उनको भनाइ छ ।

सांसद थिङले अर्थमन्त्री विष्णु पौडेललाई परिवारको परिभाषाबारे जानकारी गराउँदै भनेकी छन्, ‘कानुनमा परिवार भन्नाले आमाबाबु, छोराछोरी, पतिपत्नी, बाजेबज्यै र सौतेनी आमा भनिएको छ । बाबुआमा मरिसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन, त्यो बेलामा राज्य अभिभावक हुनुपर्ने होइन र ?’, उनले सोधिन् ।

टिप्पणीहरू