काम बस व्यवसाय, नाम दधिराम, मुध्दा ७२ लाख दाम

काम बस व्यवसाय, नाम दधिराम, मुध्दा ७२ लाख दाम

नेपालकै ठूलो यातायात कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेललाई राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्धा दायर गरेको छ । साना गाडीका महँगा पार्टसको तस्करी गरी राजस्व छलेको आरोपमा तिलोत्तमा- ४ का दधिराम खरेल तथा उनका पार्टनर जगन्नाथ खनालविरुद्ध हिजो मुद्दा दायर भएको हो । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले शुभलक्ष्मी अटो लिङ्क प्रालिका नाममा गाडीका महँगा पार्टसहरु भारतबाट तस्करी गरी नेपाल ल्याउने र अवैध तरिकाले राजस्व छली गर्दै बिक्री वितरण गर्ने गरेको पाइएपछि मुद्धा चलाइएको बताइन् । 

खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर,बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहितको दफा २०९) बमोजिम मुद्दा दायर गरेको बताइएको छ । खरेल र उनका साथीमाथि ७२ लाख बढी राजस्व छलेको र सोहीबमोजिमको सतप्रतिशत जरिवाना गरी १ करोड ४४ लाख असुल उपर तथा हदैसम्म कैद सजायको माग राजस्व कार्यालयले गरेको छ । भारतको सुनौली नाका भएर करोडौँको कार,बस रलगायतको मोटरपार्टस तस्करी भएर गोदाम गरेको खबर पाएपछि राजस्व टोलीले यरवर्कसप र गोदाममा १ साताअघि छापा हानेको थियो । त्यस क्रममा कागजपत्र भन्दा बढी मालवस्तु भेटियो । “हामीले त्यहाँ फर्मको मौज्दात किताबमा प्रविष्टि गरेभन्दा बढी सामान पायौँ”,श्रेष्ठले भनिन् । 

व्यवसायीले पेश गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु,बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट कसुर गरेको पुष्टि भएकोले मुद्दा दायर गरिएको राजश्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए । साबिकको पश्चिम नेपाल बस व्यवसायी संघ हुँदादेखि नै लामो समयसम्म नेतृत्वमा बसेका खरेलले यातायात व्यवसायीको आवरणमा भारतबाट मोटरपार्टस्‌को अवैध चोरी तस्करी गर्दै आएका थिए । उनले विशेष गरी आफ्‌नै प्रा.लिका बसहरु मार्फत बुटवलबाट काठ्माण्डौ, पोखरा र अन्य शहरमा विना बिल बिजक कार,जीप,बस गायतका महंगा मोटरपार्टस सप्लाई गर्दै आएका थिए ।

टिप्पणीहरू