श्रीमानहरुले खाली गरेनन् मैदान,रविको मुद्दा पर्सि हेर्दाहेर्दैमा

भूपू गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइ आइतबार पनि निरन्तर हुने भएको छ ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासमा हिजोदेखि सुनुवाइ शुरु भएकोमा आज हेर्दाहेर्दैमा थियो । तर, पुनरावेदक रविका वकिलहरूले न्यायाधीश फेर्न माग गर्दै इजलासमा लामो गलफत्ती गरेपछि बहस नै शुरु नै नगरी हेर्दाहेर्दैमा गएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिनाका अभियुक्त रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र राज्यविरुद्धको कसूरमा कास्की जिल्ला अदालतले ६० लाख धरौटी मागेर छोडेको थियो । जिल्लाको उक्त आदेश बदर गरी आफूलाई साधारण तारेखमा छोड्न माग गर्दै उनी आफै उच्च अदालत पोखरा पुगेका थिए ।
आज बहस शुरु हुनुअघि काठमाडौँबाट गएका रविका वकिलहरू रमनकुमार श्रेष्ठ,सुशील पन्त र सुरेन्द्र थापाले न्यायाधीशद्वयलाई बेञ्च छोड्न आग्रह गर्दै रेक्युजल मागेका थिए । जेलमा रहेका रविलाई थाहापत्तो नदिई पेशी राखेको तर्कका आधारमा वरिष्ठहरुले न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएपछि केहीबेर सवाल जवाफसमेत भएको थियो । आफै जिल्लाको आदेश उल्टाउन माथि जाने,अनि उक्त निवेदन सुनुवाइको पालो कहिले आउला भनेर वास्तै नगरी बस्ने प्रवृत्ति यहाँनेर प्रस्टै देखियो ।
चिया ब्रेकअघि गलफत्तीमै समय सकिएकोमा चिया ब्रेकपछि निर्णय दिने भनेर न्यायाधीशहरु उठेका थिए । अन्तिममा उनीहरुले बेञ्च नछोड्ने स्पष्ट पार्दै आइतबार निरन्तर सुनुवाइ हुने निर्णय सुनाए ।
टिप्पणीहरू