प्रधानमन्त्रीले डाकेको बैठकमा बालेन अनुपस्थित

प्रधानमन्त्रीले डाकेको बैठकमा बालेन अनुपस्थित

सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज मूल समारोह समिति गठन गरिएको छ ।

समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरु सदस्य छन् । 

गणतन्त्र दिवसका कार्यक्रम तय गर्न प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा बोलाउनुभएको बैठकमा काठमाडौँ महानगरपालिका मेयर बालेन साह अनुपस्थित भए । उनको सट्टा उपप्रमुख सुनिता डंगोल बैठकमा सहभागी भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले घुमाउरो शैलीमा बालेनलाई अर्को बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन समेत दिनुभएको छ । । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकृतले भने, ‘यो साझा कार्यक्रम हो, यस्तो महत्वपूर्ण कार्यक्रमको बैठकमा सम्बन्धित जनप्रतिनिधि उपस्थित हुनुपर्छ । सदस्य सचिवज्यूले जानकारी गराउनुहोला ।’

बैठकले जेठ १४ गते सबै सार्वजनिक निकायमा दीप प्रज्वलन गर्ने, जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा मुख्य कार्यक्रम आयोजना गर्ने र जेठ १६ गते पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू