मेयरको पछि लागेका भेट्रान कलाकार चुर्लुम्म, छोरीको सपना चकनाचुर

मेयरको पछि लागेका भेट्रान कलाकार चुर्लुम्म, छोरीको सपना चकनाचुर

माछा नभएको ठाउँमा माछापोखरी (ताल) बनाएर ५७ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापासहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हिजो दर्ता गरेको छ । यसअघि पनि उनीविरुद्ध अख्तियारले नै दुई र वन तथा वातावरण मन्त्रालयले एउटा मुद्दा दर्ता गरिसकेको छ । 

यसरी मेयर थापाविरुद्ध क्रमशः एकपछि अर्को मुद्दा थपिँदै गएपछि यतिबेला भने उनकै छोरी अर्विशाले डेब्यु गरेको र चर्चित कलाकारहरुले छायाँकन समेत सकाइसकेको चलचित्र ‘मेयर’ धरापमा परेको छ । थापाकै संघर्ष र जीवनीमा आधारित उक्त चलचित्रलाई डिमाण्डेड निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । 

गत वर्ष काठमाडौँको मल्ल होटलबाट शुरु भएको छायाँकन दुई महिनासम्म सर्लाहीका विभिन्न ठाउँमा गरियो । चलचित्रमा पछिल्लो समय भेट्रान भनिएका कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, ऋचा शर्मालगायको अभिनय छ । 

मेयर थापाकै छोरी अर्विशाले पनि सोही चलचित्रमार्फत् नेपाली रजतपटमा बलियो उपस्थिति जनाउने धेरैको विश्वास थियो । तर अहिले मेयरविरुद्ध मुद्दा थपिँदै गएपछि चलचित्रमा लगानी गरिएको करिब चार करोड स्वाहा भएको छ । अर्कोतिर कलाकारहरुको समय र मेहनत बर्बाद भएको छ । अर्विशाको पहिलो प्रयासमै ठूलो ठक्कर लागेको छ ।

त्यसो त, निर्माण घोषणाको बेला नै छोरीलाई डेब्यु गराउन मेयर थापाले चलचित्रको लगानी जुटाएको चर्चा व्यापक थियो । पछिल्ला घटनाक्रम र चलचित्रको प्रोस्ट प्रोडक्शनको काम अचानक स्थगित हुनुले उक्त चर्चालाई बल पुर्याएको देखिन्छ । 

जनआस्थाको सम्पर्कमा आएका निर्माण टिमका एक सदस्यले अब उक्त चलचित्र प्रदर्शन हुने सम्भावना नरहेको बताए । उनका अनुसार मेयर थापाविरुद्धको मुद्दा किनारा नलाग्दासम्म नैतिक रुपमा पनि चलचित्र प्रदर्शन गर्न मिल्दैन । ‘उहाँको कथामा बनाइएको फिल्म हो, प्रदर्शन गरियो भने स्वतः मुद्दा प्रभावित पार्न यसो गरियो भन्ने हुन्छ’, उनले भने, ‘हामीले छायाँकन गर्दा यस्तो हुन्छ भन्ने सोचेका थिएनौँ, छायाँकन सक्दै गर्दा पहिलो मुद्दा दर्ता भयो, अहिले चार वटा पुगिसकेछ ।’

बताइएअनुसार चलचित्रका निर्देशक खनाल र अभिनेता लामिछानेले मेयर थापासँग सहकार्य गरेकोमा बेलाबखत पश्चाताप भएको सुनाउने गरेका छन् । ‘फिल्म त बनाइयो, तर जसको कथा देखाउन खोजिएको हो, उ नै चार चार वटा मुद्दाको प्रतिवादी हुन पुग्यो, अझै थपिने पो हो कि’, ती सदस्य भन्छन्, ‘दिपेन्द्र दाइ र खगेन्द्र दाइले बेकारमा त्यता लागिएछ, बरु त्यो समयमा अरु प्रोजेक्ट गरेको भए हुन्थ्यो भन्ने धारणा सुनाइरहनुहुन्छ ।’

निर्देशक खनालसहित अन्य कलाकारहरु उक्त चलचित्रको माया मारेर अहिले अरू चलचित्रको काममा लागेका छन् । ‘मेयर सापको मुद्दा किनारा लाग्न अब कम्तिमा ८/१० वर्ष लाग्छ, त्यतिञ्जेलसम्म दर्शकको दृष्टिकोण र फिल्म मेकिंग अर्कै स्तरमा पुगिसकेको हुन्छ । चलचित्र प्रदर्शन नै नहुने भएपछि किन त्यसैमा अल्झिरहनु भनेर सबै जना नयाँ प्रोजेक्टमा जोडिरहेका छन्’, ती सदस्यले सुनाए ।

टिप्पणीहरू