युवतीको गोपनियता सार्वजनिक गरेको अभियोग लागेका गाउँपालिका अध्यक्ष पक्राउ

विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।
जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि उनलाई आज इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोग अध्यक्ष चौधरीमाथि छ ।
जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई पक्राउ आदेश दिएको थियो । त्यसलगत्तै केहीदिन सम्पर्कविहीन भएका चौधरी आज बुटवल आएको बेला इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका चौधरीलाई अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगिएको छ । उनी गत स्थानीय तह निर्वाचनमा लोसपाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
टिप्पणीहरू