संसदमा सांसदको अभाव, सत्ता पक्षका जम्मा तीन जना

संसदमा सांसदको अभाव, सत्ता पक्षका जम्मा तीन जना

संसदमा गणपुरक संख्या नपुग्ने रोग फेरि दोहोरिएको छ । आज प्रतिनिधिसभामा भूमि सम्बन्धि विधेयक छलफलका लागि निर्णयार्थ पेश गर्नेक्रममा सत्ता पक्षका तीनजना मात्र सांसद उपस्थित भएपछि बैठक स्थगित गर्नुपर्यो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावउपर छलफल गरेर मन्त्रीले जवाफ दिएसँगै सभामुख घिमिरेले पारित गर्न प्रक्रिया शुरु गरे । 

लगत्तै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरे । उक्त समयमा प्रतिपक्ष दलका तीन जना सांसदमात्रै संसदमा उपस्थित थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले ३ मीनेट जनाउ घण्टी बजाई संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिए । तीन मीनेट लगातार घण्टी बजाउँदासमेत एक चौथाइ अर्थात् ६९ जना सांसद नभएपछि सभामुखले बैठक स्थगितको घोषणा गरे ।

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव संसद बैठकमा निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।

विगतमा पनि गणपूरक संख्या नपुगेर धेरै पटक संसद बैठक स्थगित भएको उदाहरण छ । सार्वजनिक महत्वका प्रस्ताव, संसदीय समितिका प्रतिवेदन तथा विधेयकहरु छलफलका लागि निर्णयार्थ पेश गर्दा पटक-पटक संख्या नपुग्ने स्थितिले सांसदहरु व्यवस्थापिका संसदप्रति जिम्मेवार नरहेको देखिन्छ ।

टिप्पणीहरू