सडकमै सुरक्षित प्रसूति, आमा र नवजात शिशु सामान्य

सडकमै सुरक्षित प्रसूति, आमा र नवजात शिशु सामान्य

एक प्रहरी जवानले एक गर्भवती महिलालाई सडकमै सुरक्षित प्रसूति गराएकी छन् । सुत्केरी व्यथाले सडकमा छट्पटाएकी एक महिलाको प्रहरी जवान चन्द्रिका देउवाले कैलालीको बाटोमै सुरक्षित प्रसूति गराएकी हुन् । 

गोदावरी नगरपालिका–१, चैतन्यपुरमा एक महिलाले अस्वाभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेकी जवान देउवाले महिला सुत्केरी व्यथाले छट्पटिएको थाहा पाएपछि अस्पताल लैजाने तयारी गरिन् । 

तर, व्यथाले धेरै नै च्यापेपछि उनैको सहयोगमा ती महिलाले सडक छेउमा रहेको एउटा घरको आँगनमै शिशु (छोरा) लाई जन्म दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार प्रसूतिपछि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएका आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ । 

उनले भने, ‘आमा र शिशु नै अस्पतालमा हुनुहुन्छ । दुवैको स्वास्थ्य अवस्था ठीक छ ।’ ती महिलाले अहिलेसम्म केही पनि नबोलेको डिएसपी सिंहले बताए । ‘घरपरिवारबारे सोधका थियौं । तर, उहाँ बोल्नै चाहनुभएको छैन । अहिलेसम्म केही पनि बोल्नु भएको छैन,’ उनले भने ।

टिप्पणीहरू