छोरा र नातीलाई शिखरमा पुर्याउने ती छापामार

जापानले कोरियामा दुईपटक सैन्य आक्रमण गर्यो । सन् १५९२ र सन् १९१० मा । दोश्रोपटक कोरियामाथि कब्जा जमाइसकेपछि जापानी सेनाले उत्पात मच्चाउन थाल्यो । दिउँसै गाउँ गएर किसानको नरसंहार गर्ने, आमाबुबाकै सामु छोरी, बुहारीहरूमाथि बलात्कार गर्ने । अत्याचार सहन नसकेर हजारौं किसान चीनको मन्चुरिया पसे । यसरी भाग्नेमध्ये एकजना किम चुनसान पनि थिए । चुनसान उत्तरी कोरियाको गाउँ हामग्योङ निवासी हुन् । स्कूलमा पढाउने गरिब । एकातिर जापानी सेनाको अत्याचार, अर्कोतिर जमिन्दारसित लिएको ऋण । जमिनदारले गाईवस्तु लगिसकेको थियो । विषम परिस्थिति सामना गर्न नसकेपछि चुनसान पत्नी, एक छोरी र २ छोरालाई छाडेर मञ्चुरिया पसे । अर्को वर्ष उनी बिरामी परेको खबर परिवारले पाए । बूढो सिकिस्त बिरामी परेको खबरले पत्नीको हृदय विह्वल भयो र ८ वर्षको छोरो किम किजुङ, ५ वर्षकी छोरी किम जोङसुक र भर्खर जन्मेको छोरो किम किसोङलाई काखी च्यापेर टुमन नदी तरी मञ्चुरियातर्फ लागिन् ।
तर उनीहरू पुग्नुअगावै चुनसानको निधन भइसकेको थियो । त्यसबेला किम इलसुङले मञ्चुरियामै बसेर जापानविरोधी गतिविधि शुरु गरिसकेका थिए । चिनियाँ कम्युुनिष्टको संगतमा परेर सन् १९२६ मा साम्राज्यवादविरोधी संगठन बनाएका उनले पछि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यतासमेत लिए । कोरियाइ युथ कम्युनिष्ट संघ गठन गरे जसमा २० जना थिए । यसै क्रममा जेल परे । जापानविरोधी कोरियाइ संगठनमा ओस्सीको पूरै परिवार लाग्यो । यसैक्रममा जापानी सेनाकै हातबाट उनको हत्या भयो । आमा मारिंदा किम जोङसुक मात्र १५ की थिइन् । २ वर्षपछि दाजु किम किजुङ पनि सेनाकै गोलीबाट मारिए । आमा र दाजुको हत्यापछि सुक पूरै राजनीतिमा हाम्फालिन् ।भाइ किम किसोङलाई पनि बालसेनामा लगाइन् ।
सुक जडीबुटी टिप्न बिहान सवेरै पहाडतर्फ लाग्थिन् । एकदिन घर फर्कंदै गर्दा बाटोमा बच्चा रोएको सुनिन् । आवाजको पिछा गर्दै छाप्रोभित्र पसिन् । भित्र बच्चा आमाको सुकेको स्तन चुस्दै रुँदै थियो । सुकले ती आमाको निधार छोएर हेरिन्, पूरै शरीर आगोसरी तातो थियो । उनी होशमै थिइनन् । सुकले आफूले टिपेर ल्याएको जडिबुटी उमालिनन् र खाना पकाएर ख्वाइन् । भोलिपल्ट बिहानै फेरि सोही घरमा पुगेर खाना पकाइदिइन् । उनको स्याहारसुसार देखेर गाउँलेहरू छक्क परे । र बिस्तारै उनले भनेको कुरा मान्न थाले । त्यसो त गाउँलेहरू चिनियाँ थिए तर बिस्तारै उनको पछि लाग्न शुरु गरे । सुक चलाख थिइन् र उत्तिकै मिजासिलो पनि । किम इलसुङको नेतृत्वमा मञ्चुरियास्थित कोरियालीहरूको लागि ठाउँठाउँमा रात्रिकालिन स्कूल खुल्यो । सुक पनि पढ्न जान थालिन् । स्कूलमा कोरियाली भाषा त सिकाइन्थ्यो नै दैनिकजसो क्रान्तिकारी कथा पनि हुन्थ्यो । प्रायः कथा जमिन्दारद्वारा दिइने अत्याचार, थिचोमिचो र जापानसम्बन्धी हुन्थे ।
यसरी कथामार्फतै किम इलसुङ बिस्तारै सामन्तबाद र जापानबिरोधी कोरियालीहरूको ‘नायक’ बन्न पुगे । पछि ती स्कूलमा युथ कम्युनिष्ट लिगका कार्यकर्ताले पनि कक्षा लिन थाले । उनीहरूले सिधै क्रान्तिकारी विचार प्रचारप्रसार गर्थे । सुकलगायत थुप्रै कोरियाली उक्त संगठनमा लागे । सुक अब गाउँगाउँमा गएर भाषण दिन सक्ने भइन् । युवकहरू उनको जोशिलो भाषण सुनेर मख्ख पर्थे । बिस्तारै प्रौढ महिला–पुरुष पनि उनीबाट प्रभावित बन्न थाले ।
यसबीच पूर्वी मञ्चुरियामा किम इलसुङले ‘बाली आन्दोलन’ शुरु गरे । लगत्तै फ्योङ्दोङमा क्रान्तिकारी युनिट गठन गरे, । सुकले प्रचारप्रसारको जिम्मा पाइन् । सुक निकै मेहनती र लगनशील थिइन् । सन् १९३५ को फेब्रुअरीमा सुक पार्टी बैठकमा भाग लिन उत्तरी मञ्चुरियाको ताह्वाङवाइ पुगिन् । किम इलसुङ पनि त्यहीं थिए । उनले बैठकमा क्रान्ति र प्रतिक्रान्तिबारे लामै ब्याख्या गरे । सुकले किम इलसुङलाई प्रत्यक्ष देखेको पहिलोपटक त्यही बेला हो । इलसुङलाई देखेर सुक यतिधेरै भावुक बनिन् कि आँखा नै रसायो ।बैठकमा सुकको प्रस्तुतिलाई सबैले मन पराए । उनको सुरिलो, जोशिलो र तार्किक प्रस्तुतिलाई लिएर प्रायः सबै उच्चकोटीका नेताहरू दङ्ग परे । बैठकपछि सुक यान्ची काउण्टीस्थित छापामार नियन्त्रित क्षेत्र सान्ताओवानमा खटिइन् । इलसुङ त्यहाँ पनि पुगे । यो दोस्रो भेट थियो । निरीक्षण सकाएर इलसुङ सोही दिन त्यहाँबाट हिँडे । उनी गैसकेपछि सुकले महिला साथीहरूलाई भनिन् ‘उहाँ अद्भूत हुनुहुन्छ ! म जहाँ भए पनि, उहाँलाई विश्वास गर्नेछु र पछ्याउनेछु । म जीवनभर उहाँको क्रान्तिकारी मार्गमा हिंड्नेछु ।’
लगत्तै सुक बूढाबूढी र केटाकेटीलाई लिएर त्यहाँबाट हिंडिन् । उनीहरू ८० किमी हिँडेर चेचाङझी पुगे । यसपछिका दिनमा सुक इलसुङसँगै काम गर्न थालिन् । इलसुङ कहिले कुन छापामार इलाका त कहिले कुन क्षेत्रको इलाकामा गैरहन्थे भने सुक पनि सँगै हुन्थिन् । इलसुङलाई खाना पकाएर ख्वाउन र स्वास्थ्यको हेरचाह गर्न थालिन् । मञ्चुरियामा निकै चिसो हुन्थ्यो । सुकले न्यानो मोजा, स्वीटर बुनेर दिन्थिन् । यहाँसम्म कि आफ्नो कपाल काटेर त्यसबाट जुत्ताको सोलसमेत लगाउन दिएकी थिइन् । सन् १९३७ मा सुक जेल परिन् तर पछि पुनः छापामार युद्धमा सामेल भइन् । सुक सधैं इलसुङको अंगरक्षक बनेर हिँड्थिन् । एक दिन, जब छापामारहरू इलसुङको कमाण्डमा मार्च गरिरहेका थिए, अचानक छ जना जापानीसित जम्काभेट भयो । बाँसको भाँटा बोकेका उनीहरूले निशाना साँधेर आक्रमण गर्न के लागेका थिए सुकले इलसुङलाई धक्का दिएर लडाइदिइन् अनि आफूसित भएको पेस्तोलबाट गोली चलाइन् । लगत्तै इलसुङले पनि गोली हान्दा ६ जनै मारिए । सुकले यसरी धेरैपटक इलसुङको ज्यान बचाइन् ।
सँगसँगै पार्टी काममा हिँड्ने क्रममै कहिले एकार्काको नजिक पुगे दुबैलाई हेक्का भएन । र, पहिलोपटक देखादेख भएको ५ वर्षपछि सन् १९४० को सेप्टेम्बरदेखि सँंगै बस्न थाले । अक्टोबरमा जापानीहरूको आँखा छल्दै आमुर नदी तरेर सोभियत संघ पुगे । त्यहाँ सुकले सैन्य तालिम लिइन् । ५ महिनामै आमा बनिन् । उनले सन् १९४१ को फेब्रुअरीमा त्यहींको भ्यात्स्कोये सैन्य क्याम्पमा किम जोङ इललाई जन्म दिइन् । बच्चाको नाउँ युरी इर्सेनोभिच किम राखियो । परिवारभित्र सबैले उनलाई युरा भनेर बोलाउँथे । छोरो जन्मेपछि बल्ल उनीहरू औपचारिक रूपमा पति पत्नी बने । इलसुङले दोश्रो विश्वयुद्धताका सोभियत सेनाभित्र कोरियाली टुकडीको नेतृत्व गर्दै लडेका थिए । सोभियत कम्युनिष्ट पार्टीको सदस्यता पनि लिए । सुकले दोश्रो सन्तान किम मान इल (अलेक्ज्याण्डर इर्सेनोभिच किम) लाई पनि त्यहीं सन् १९४४ मा जन्माइन् ।
किम इलसुङ दोश्रो विश्वयुद्ध सकिन लाग्दा स्वदेश फर्के, सोभियतसंघले जापानबिरुद्ध युद्ध घोषणा गरेपछि ३३ जना रुसी सैन्य अधिकृतहरूको साथमा । उनले २६ वर्षको निर्वासनपछि पहिलोपटक कोरियाको वोनसान बन्दरगाहमा पाइला टेकेका थिए । पछि उनैको नेतृत्वमा सन् १९४५ को अगस्तमा कोरिया जापानी उपनिवेशबाट मुक्त भयो । सन् १९४८ मा सुप्रिम कमाण्डरको साथै प्रधानमन्त्री र सन् १९७२ पछि राष्ट्रपति बने । यो पदमा सन् १९९४ मा देहत्याग गर्नु अगाडिसम्म रहे । सुकले स्वदेश फर्केपछि सन् १९४६ मा छोरी किम क्योङ हुइलाई जन्म दिइन् । सन् १९४९ मा पुनः गर्भधारण गरिन् । तर, पछिल्लोपटक समस्या देखा पर्यो र अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । जम्मा ३४ वर्षकी थिइन् । भनिन्छ, इलसुङको पत्नी सुक र केटाकेटीको स्याहारसुसार गर्न घरमा राखिएकी युवती किम सोङएसितको ‘सम्बन्ध’ बारे सुकले थाहा पाइन् । यो कुराबाट उनी निकै दुःखी बनिन् । यहाँसम्म कि कोठा थुनेर बसिन् । चिकित्सकलाई समेत छिर्न दिइनन् । र, अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो ।
३ वर्षपछि इलसुङले सन् १९५२ मा उनै किम सोङएसँग बिहे गरे । पछि सोङए ३ छोराको आमा बनिन् । किम इलसुङको मृत्युपछि राष्ट्रपति बनेका किम जोङ इल सुकतर्फका छोरा हुन् । उनको निधन पनि सन् २०११ मा भइसकेको छ । यतिखेर उनै जोङइलका छोरा तथा सुकका नाति किम जोङ उन सत्तामा छन् । यतिखेर उनी ४१ वर्षका छन् । सोङएको निधन पनि सन् २०१४ मै भइसकेको छ । उत्तर कोरियामा सुकबारे धेरै कथा छन् । सिनेमा बनेका छन् । किम इलसुङ बाँचुञ्जेल ‘प्रथम महिला’ को उपाधि पाएकी उनलाई कोरियालीहरूले ‘क्रान्तिको महान आमा’ भनेर संबोधन गर्छन् ।
टिप्पणीहरू