राजा फर्काउन युवालाई समेट्ने रणनीति

सडकको बलमा राजा फर्काउन युवालाई समेट्ने रणनीति राजावादीहरुले बनाएका छन् । गणतन्त्र दिवसको दिन पारेर जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका उनीहरुले आगामी आइतबार काठमाडौँमा युवा भेला गर्न लागेका हुन् ।
'संयुक्त जनआन्दोलन समिति' ले आजदेखि आगामी सोमबारसम्म गर्ने भनेको धार्मिक तथा जनजागरण अभियान स्थगित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १२ गते राष्ट्रिय सभा गृहमा युवा अन्तर्क्रिया गर्न लागेको बताइएको छ । ‘युवासँग राप्रपा’ नाम दिइएको कार्यक्रममा ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ?’ भन्ने विषयमा छलफल गराइने छ ।
राजावादी आन्दोलनको रणनीति बनाउने मुख्य जिम्मेवारी पाएका त्यस पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार हुने अन्तर्क्रियामा पार्टीका केही सेलिब्रेटी अनुहारहरुलाई अनिवार्य सहभागी हुन भनेको बुझिएको छ । लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रममा अभिनेत्री रेखा थापाको पनि सहभागिता रहने बताइन्छ ।
राप्रपाको केन्द्रीय सदस्य पदमा रहेकी रेखा र लिङ्देनको सम्बन्ध पछिल्लो समय राम्रो नरहेको चर्चा छ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को विजेता आश्माकुमारी केसीलाई पनि कार्यक्रममा सहभागी गराउन लागिएको छ । गत असोजमा पार्टीको केन्द्रीय सदस्य मनोनित भएकी उनी बैठकहरुमा भने खासै देखिएकी छैनन् । सोमबारको कार्यक्रममा भने उनलाई जसरी पनि सहभागि हुन खबर पठाइएको बुझिन्छ ।
मोडलसमेत रहेकी केन्द्रीय सदस्य खुश्बु ओलीले पनि कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।
टिप्पणीहरू