देउवाले नबोलेको कुरा समाचार बनेपछि कांग्रेसको आपत्ति

देउवाले नबोलेको कुरा समाचार बनेपछि कांग्रेसको आपत्ति

सत्तारुढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा धारणा भन्दै राजसंस्थाको बारेमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाएकाे छ । 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापतिको धारणा भनी गरिएको प्रचार र सम्प्रेषित समाचारको खण्डन गरे । उनले कुनै पनि भ्रममा नपर्न पार्टीपंति र सर्वसाधारणलाई आग्रह गरेका छन् । 

केही सञ्चार माध्यमले 'काँग्रेस सभापति देउवा हृदयेन्द्र शाहलाई राजा मान्न तयार' भन्दै समाचार प्रकाशित गरेका थिए । तर ती समाचारमा दावी गरिएजस्तो देउवाले कहिकतै कोहीसँग त्यस्ताे नबोलेको काँग्रेस केन्द्रीय कार्यालयले स्पष्ट पारेको छ । 

‘नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धारण भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । नेपाली कांग्रेस सबै आन्दोलबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपील गर्दछौँ ।’ 

संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवा सधैँ प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू