तस्करी रोक्ने गृहमन्त्रीको अभिव्यक्ति ‘मजाक’ : काँग्रेस नेता
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सभा सदस्य केदार कार्कीले तस्करी नियन्त्रण सम्बन्धमा गृहमन्त्री रमेश लेखकको हालैको एक अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । संघीय सरकार र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको उनको दाबी छ ।
प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कार्कीले तस्करी नियन्त्रण र गृहमन्त्रीको निर्देशनबारे आलोचनात्मक टिप्पणी गर्दै मुखले भन्दैमा परिणाम नआउने बताए । केही दिनअघि विराटनगरमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले पूर्वका नाकाबाट भइरहेको तस्करी एक महिनाभित्र नियन्त्रण नगरे कारबाही गर्ने प्रहरीलाई चेतावनी दिएका थिए ।
आफ्नै पार्टीका नेतासमेत रहेका गृहमन्त्रीको उक्त अभिव्यक्तिलाई मजाक भन्दै आएका पूर्व मुख्यमन्त्री कार्कीले ‘झोलेपोके’ र किनमेल गर्न गएका उपभोक्ताहरुलाई रोकेर तस्करी नियन्त्रण नहुने बताए । त्यसक्रममा उनले आफू मुख्यमन्त्री भएका बेला बोर्डर अनुगमनमा जाँदाको एउटा घटना स्मरण गरेका छन् ।
‘मैले प्रहरीहरुले नै तस्करीको लाइन चलाएको देखेपछि फोटोसमेत खिच्न सकिनँ, किनभने त्यहाँ मुख्यमन्त्रीकै ज्यानको सुरक्षा जोखिम थियो’, संसद्को रोष्ट्रममा उभिएर उनले भनेका थिए । प्रहरीले खुलेआम लाखौँ रकम असुल्ने गरेको प्रमाण आफूसँग भएको जनाउँदै उनले छानबिन गर्न मागसमेत गरे ।
सरकारले राजस्वको दायरा बढाउने भनिरहँदा नाकामा भने खुलेआम कर छली भइरहेककोतर्फ कार्कीले सचेत गराएका छन् । कटाक्ष गर्दै भने, ‘के पानी खाएको र हावामा सास फेरेको पनि कर लिएर दायरा बढाउने ? अनि आफ्नो मान्छे पठाएर पैसा असुली गर्न खुलेआम तस्करी भएको चाहिँ नदेख्ने हामीले त शौच गरेको पनि पैसा तिरकै छौं त ?’
जनप्रतिनिधिहरुले समेत तस्करी गराउने ठेक्का लिएको कार्कीको गम्भीर आरोप छ । ‘घरमा पूजा लगाउन समान लिएर आउनेहरुलाई थर्काएर तस्करी रोकिँदैन, गृहमन्त्रीले भनेपछि दिउँसोको त रोकियो तर राती भने अझै खुलेआम ठोकिएकै छ,’ उनले भने । एसपीहरुलाई तस्करी किन रोकिएन भनेर सोध्दा गृहमन्त्रीहरु समेतलाई मिलाउनुपर्छ भन्ने जवाफ पाएको कार्कीले सुनाए ।
वैशाख ३१ गते विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिवको अध्यक्षतामा बैठक राखेर सरकारले संघीयताको धज्जी उडाएको उनको आरोप छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालयकै नेतृत्वमा प्रदेश सुरक्षा समितिको बैठक बस्दै आएको र मन्त्रीकै अध्यक्षतामा सुरक्षा गोष्ठी गर्ने परम्परालाई वर्तमान सरकारले तोडेको उनले बताए ।
‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकार हरुवाचरुवा जस्तो भएर दासता प्रकट गर्यो त्यसले हाम्रो तेजबध भएको छ’, उनले भने, ‘आइन्दा सरकारले यस्तो गल्ती नगरोस् ।’
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (२) बाट निर्वाचित सांसद कार्कीले विपदको पैसा वितरण गर्दा पनि आश्यकता र औचित्यका आधारमा नभई शक्त्तिको आडमा हुने गरेको आरोप लगाएका छन् । ‘जति नै तिर्खा लागे पनि बिरामीलाई लगाएको स्लाइन पानी अरुले खान मिल्दैन, तर सरकारले बिरामीको स्लाइन पानी नै खाइदिएको छ ।’
संघीय सरकार र गृहमन्त्रीमाथि यसरी कटाक्ष गरेका सांसद कार्कीले नीति तथा कार्यक्रम पक्षपाती भएको भन्दै तीब्र आलोचना गरेका छन् । विद्युतीय गाडीको ब्याट्री खरिद गर्ने कार्यक्रम ल्याउनसक्ने प्रदेश सरकारले जलनको उपचारका लागि अस्पताल निर्माणको पहल नगरेको र भएको मुटुरोग अस्पताल पनि अलपत्र बनाएको भन्दै दुःखेसो गरे ।
टिप्पणीहरू