अख्तियारको नाम बेच्दै राणाकालको पुस्तकालय खान खोज्दा छानबिन शुरु

बिक्रम सम्वत २००४ साल अर्थात ७८ बर्षअगाडि राणाकालमा बनेको ऐतिहासिक पुस्तकालयको जग्गा हिनामिना प्रकरणमा छानबिननिम्ति रौतहटको गौर नगरपालिकाले आज समिति गठन गर्ने भएको छ । तत्कालीन अध्यक्ष रामप्रताप राय यादवले पुस्तकालयका नाममा विभिन्न स्थानमा भएको जग्गा हिनामिना गरेको खुलेसङ्गै नगरपालिकाले समिति बनाएर छानबिन गर्न लागेको हो ।
नागरिक अगुवा,अधिवक्ता, स्थानीयसहित उपमेयरको संयोजकत्वमा समिति बनाउन लागिएको बुझिएको छ । समितिबारे आजै निर्णय गरिने मेयर शम्भु साहले बताए । जनआस्थासँग भने,‘अहिले छलफलमा छौं । आजै समितिबारे निर्णय हुन्छ ।’
यस्तो छ हिनामिनाको नालीबेली
वडा नम्बर–५, ब्रहमस्थाननजिकै वि.सं.२००४ सालमा बनेको एउटा पुस्तकालय छ । जसलाई शारदा पुस्तकालय भनिन्थ्यो । तर,नाम परिवर्तन गरेर अहिले कलाकुञ्ज पुस्तकालय राखिएको छ । त्यसको अध्यक्ष थिए रामप्रताप । उनले आफ्नो पदको दुरुपयोग गर्दै पुस्तकालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गा बेचेको पाइएको छ ।
पुस्तकालयका नाममा थुप्रै ठाउँमा रहेको जग्गा बेचिसकेका उनले सर्लाहीको १२ आना जग्गासमेत बेच्न लागेको भनी नगरपालिकामा निवेदन पर्यो । २०७९ मंसिर १८ गते नगरप्रमुख साहलाई सम्बोधन गर्दै पुस्तकालयका संयोजक जगन्नाथप्रसाद केशरी र सदस्य शान्तिप्रसाद सुवेदीले एउटा निवेदन दिए । जसमा रामप्रतापले गैरकानुनी रुपमा समिति गठन गरी जग्गा आफूलाई दिन भन्दै भूमिसुधार तथा मालपोत कार्यालय,सर्लाहीमा निवेदन दिएको उल्लेख गरिएको छ ।
गुठी संस्थानका कर्मचारीसँग मिलेमतो गर्दै उनले जग्गा आफ्नो नाममा गर्ने गरेको पाइएपछि सो को छानबिनका निम्ति एउटा टोली काठमाण्डौबाट अहिले गौर पुगेको छ । ‘यहाँ गुठीको जग्गा धेरै छ । उनले सेटिङ्ग गरेर ती जग्गा बेचबिखन गरेका छन् । जयनगरसँगै लक्ष्मीनारायणको जग्गा पनि बेचिएको छ । उनले अनाधिकृत रुपमा एक कठ्ठा जग्गा आफ्नो नाममा लगेको पाइएको छ’,स्रोतले भन्यो ।
भनिएको छ,‘रामप्रताप राय यादवले मिति २०७९–५–२५ मा आफूखुशी अनाधिकार अदालतको आदेशविपरीत,यस नगरपालिकाको पत्रको पनि वास्ता नगरी समिति गठन गरी लिएको र सोहीअनुसार ती व्यक्तिले दिएको प्रतिउत्तर अमान्य गरी रामप्रताप राय यादवलाई प्राप्त हुनेगरी विपक्षी विपत्ती रायको मात्र पुनः म्याद जारी गरिदिनको लागि भूमिसुधार तथा मालपोत कार्यालय,सर्लाहीमा निवेदन दिएको श्रीमानमा जानकारी गराउँदछौं ।’
निवेदन परेपछि नगरपालिकाले त्यस विषयमा सोधखोज अगाडि बढायो । हेल्पलाइन नेपालनामक आफ्नो एनजिओको ठेक्का सम्झौता नविकरणमा साथ नदिने तत्कालिन एलडिओ वसन्त भण्डारीको भान्छामा ५० हजारको मुठो राखेर स्टिङ्ग अपरेसन गरी जागिर खाइदिएदेखि नै लगातार अख्तियारको नाम बिक्री गर्दै आएका निजले सोही क्रममा पुस्तकालयको जग्गासमेत हिनामिना गर्न लागेको भेटिएपछि नगरपालिकाले त्यसलाई रोक्न आग्रह गर्दै भूमिसुधार तथा मालपोत कार्यालय,मलगंवा र गौरलाई पत्र लेख्यो ।
मेयर साहद्वारा हस्तक्षरित पत्रमा भनिएको छ,‘यस नगरपालिका वडा नम्बर ५ स्थित कलाकुन्ज पुस्तकालयको सर्लाही जिल्लाको रोहुवा गाविस वडा नम्बर २ मा रहेको कि.नं.२०४ क्षेत्रफल ०–१२–० जग्गा र सोही सर्लाही जिल्लाको यस पुस्तकालयको अन्य जग्गासमेत तथा रौतहट जिल्लाको साविक जयनगर गाविस रहेको कि.नं. को ०–४–० जग्गासमेत केही व्यक्तिले अनाधिकृत बिक्री गर्न लागेको बुझिएकोले जग्गा बेचबिखन हुनबाट रोक्का गरिदिनुहुन सिफारिससाथ अनुरोध छ ।’
नगरपालिकाले बेलैमा पहल गर्दा सो जग्गा बेचिनबाट जोगिएको स्रोत बताउँछ । स्रोतका अनुसार रामप्रतापले गुठीको जग्गा पनि आफ्नो नाममा लगेका छन् । गुठी संस्थानका कर्मचारीसँग मिलेमतो गर्दै उनले जग्गा आफ्नो नाममा गर्ने गरेको पाइएपछि सो को छानबिनका निम्ति एउटा टोली काठमाण्डौबाट अहिले गौर पुगेको छ । ‘यहाँ गुठीको जग्गा धेरै छ । उनले सेटिङ्ग गरेर ती जग्गा बेचबिखन गरेका छन् । जयनगरसँगै लक्ष्मीनारायणको जग्गा पनि बेचिएको छ । उनले अनाधिकृत रुपमा एक कठ्ठा जग्गा आफ्नो नाममा लगेको पाइएको छ’,स्रोतले भन्यो ।
भाडामा आँखा
पुस्तकालयको भवन भत्किएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ भवन निर्माणका निम्ति बजेटको पहल गरे । संघीय सरकार र स्थानीय तहको लगानीमा पुस्तकालय भवन निर्माण गरियो । चार करोड बजेटमा बनेको सो भवनको भाडा उनले नै उठाएर खान्थे । स्रोतका अनुसार सो भवनबाट मासिक डेढ–दुई लाख रुपैयाँसम्म भाडा उठ्छ ।
‘पुस्तकालयको भवन भत्किएपछि नयाँ बनाइयो । त्यहाँबाट महिनामै डेढ–दुई लाख भाडा आउँछ । त्यो पैसा उठाएर आफैं खान्थें । संघ र स्थानीय सरकारको लगानीमा बनेको भवनबाट उनले पैसा उठाएर खान थालेपछि नगरपालिकाले रोकिदियो । त्यसविरुद्ध उनले अदालतमा मुद्दा हालेकोमा सेटिङ्ग मिलाएर र अख्तियारको धमास लगाएर जिते । अदालतको पत्र ल्याएर पेश गरे पनि नगरपालिकाले उनलाई जिम्मा दिएको छैन’,स्रोतले भन्यो ।
मेयर साह नगरपालिकाको लगानीबाट बनेको भवनमा उनलाई रजाइँ गर्न नदिने बताउँछन् । उनले भने,‘पुस्तकालय संरक्षण गर्ने काम नगरपालिकाको हो । नगरपालिकाले त्यही गरिरहेको छ । नगरपालिकाको लगानी छ तर भाडा उठाएर उनले खान्छन् । अदालतबाट जितेपछि पत्र लिँदै आएका थिए । हामीले जेसुकै गर्नुस् भन्यौं । अदालतले केही भन्यो भने हामी आफैं जवाफदेही हुन्छौं ।’
चुनाव गराउन अटेर गरेपछि तदर्थ समिति गठन
उच्च अदालतको आदेशबेगर केही क्रसर ब्यापारीसहितलाई राखेर उनी अध्यक्ष भएको र त्यसपछि ४-४ बर्षे २ कार्यकाल ०७८ मै सकिइसक्दा पनि पुस्तकालयमा नयाँ समितिका लागि चुनाव गराएका थिएनन् । लामो समय चुनाव नभएपछि समितिकै एक आजीवन सदस्यले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरे । अदालतले रामप्रतापलाई चुनाव गराउनु भन्यो । तर,उनले चुनाव गराउन चासो नदेखाएपछि नगरपालिकाले ५ नम्बर वडाका वडाध्यक्ष शिवशंकर यादवको संयोजकत्वमा एउटा तदर्थ समिति गठन गरेको छ ।
समितिमा जगन्नाथप्रसाद केशरी,विजय झा,महेशलाल कर्ण,शान्ति सुवेदी सदस्य छन् । वडाध्यक्ष यादवका अनुसार समिति गठन भएको झण्डै तीन महिना भएको छ । पुस्तकालय भवनको दुई तला निर्माणको काम सम्पन्न भएर भाडामा लगाइएको उनले जानकारी दिए । ‘चुनाव हुन नसकेपछि मेरो संयोजकत्वमा समिति बनाइएको हो । समितिले पुस्तकालयको रेखदेख गर्ने काम गरिरहेको छ । दुई तला फिनिसिङ्ग भएको छ । दुई तलामा काम चलिरहेको छ । केही भाडामा पनि लागेका छन्’,उनले भने ।
टिप्पणीहरू