व्यापारीकाे कर्तुत छताछुल्ल, पूर्वमन्त्री रनभुल्ल
नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले आफूमाथि लगाइएको आरोप झुठ्ठो भएको बताएका छन् । नियोजित रुपमा आफूलाई फसाइएको उनको दाबी छ । गौतमबुद्ध हाइड्रोपावर लिमिटेडको शेयर सदस्य र सञ्चालक आफू नरहेको स्पष्ट पार्दै उनले मोरङका उद्यमी श्याम राठीले फसाएको जिकिर गरेका छन् ।
उक्त कम्पनीमा हाल कायम शेयर सदस्य संख्या ३२ रहेको उद्योगमा पेश गरिएको विवरणमा देखिन्छ । जसमा केही एमाले नेता, केही नेताका श्रीमती, मदन–आश्रित स्मृति प्रतिष्ठानलगायत हुन् । २०७५ जेठ २८ गतेको प्रमाणित विवरणमा पन्थीको नाम देखिँदैन ।
श्यामले पल्लवी ईलेक्ट्रो प्रालिका तर्फबाट २०७५ सालमा सो हाइड्रोपावरलाई प्रतिवादी बनाएर १३ लाख ५४ हजार रुपैयाँ असुलीको मागसहित मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दामा पन्थीको पनि नाम जोडियो । अदालतले २०७७ मंसिर २३ गते सो रकम असुलउपर गर्न आदेश दिएको देखिन्छ ।
प्रतिउत्तरको मौकासमेत नदिएर अदालतले एकतर्फी फैसला गरेको उनको भनाइ छ । ‘उक्त मुद्दाको फिरादपत्रबारे मलाई कुनै जानकारी नदिई प्रतिउत्तर दिने अवसरसमेत नदिई २०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतले रु १३ लाख ५४ हजार रुपैयाँ र सोको कोर्ट फि प्रतिवादी गौतमबुद्ध हाइड्रोपावर प्रालि काठमाडौंबाट वादीले भराई पाउने ठहर गरी एकतर्फी फैसला गरिएको भएको रहेछ’, पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अदालतले समेत कम्पनी रजिष्ट्रारको कार्यालयबाट हाइड्रोपावरको विवरण नलिईकन आफूलाई गरेको कारबाहीप्रति उनले दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ,‘झनै दुःखद् र चिन्ताजनक कुरा यो हो कि–म कुनै पनि रुपमा सो कम्पनीमा शेयर सदस्य र सञ्चालक नभएको व्यक्तिलाई कसरी मुद्दा लाग्यो ? अदालत समेतबाट कम्पनी रजिष्ट्रारको कार्यालयबाट सोको लगत विवरण नलिएको कमजोरी देखियो । मेरो पद र पहिचानलाई हतियार बनाई, गलत नियतसाथ मेरो नाम, ठेगाना र उमेरसमेत नमिल्ने व्यक्तिको नाममा पक्राउ आदेश दिई, २०८२ वैशाख २८ गतेदेखि विभिन्न सार्वजनिक मिडियामार्फत् ममाथि भ्रामक र बद्नाम गर्ने सूचना प्रशारण गरिएको छ ।’
उनले झुठ्ठो मुद्दा लगाउने, आफ्नो मानहानी गर्ने र असुलिएको रकम फिर्ताका लागि कानुनी लडाइँमा जाने चेतावनी दिएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद तथा पूर्वमन्त्री पन्थी र काठमाडौं महानगरपालिका–२९ स्थित गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक देवराज खनालविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । सांसद पन्थीले अदालतमा धरौटीबापतको रकम बुझाएपछि उनीविरुद्ध जारी पक्राउ पूर्जी खारेज भएको छ । उनीहरु निकट एकजनाले भने, ‘व्यवसायीहरुमा पनि केही मारवाडी समुदायकाले कतिसम्म र कसरी ठग्दा रहेछन् भन्ने घटनाको प्रत्यक्ष उदाहरण पन्थी बन्नुभएको छ ।’
टिप्पणीहरू