पुरस्कार र बजेटमा समाजवादी प्रेसको आपत्ति

पुरस्कार र बजेटमा समाजवादी प्रेसको आपत्ति

कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको प्रदेशस्तरीय पत्रकारिता पुरस्कार पारदर्शी ढंगले वितरण नगरको भन्दै समाजवादी प्रेस संगठन कोशी प्रदेश समितिले आपत्ति जनाएको छ । आन्तरिक मामिला मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संगठनले कोशी सरकारले हरेक वर्ष वितरण गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण हुनेगरेकोतर्फ इंगित गरेको छ ।  

संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वको टोलीले आइतबार मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई  दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी नगर्न आग्रह गरेको छ ।  ‘यस प्रकारको कार्यले योग्य र निःस्वार्थ पत्रकारहरूको सम्मान गर्नुपर्ने प्रक्रियालाई नै बदनाम गर्ने हाम्रो ठहर छ’  ज्ञापनपत्रमा भनिएको छ ।  

यसैगरी प्रदेश सरकारले सञ्चार क्षेत्र सुदृढ बनाउने नाममा गर्दै आएको बजेट विनियोजन उद्देश्यअनुसार प्रयोग नभएको, बिचौलिया र निकटस्थहरूको मिलेमतोमा खर्च हुनेगरेको भन्दै सबैको सहभागितामा खर्च गर्न र भएको खर्चको अनुगमन गर्न पनि समाजवादी प्रेस संगठनले आग्रह गरेको छ । 

ज्ञापनपत्र बुझेपछि मन्त्रालयका सचिव आचार्यले सरकारले प्रदान गर्ने पुरस्कार निश्चित मापदण्डका आधारमा हुनुपर्ने तथा विकृतिहरु रोक्नुपर्ने संगठनको मागलाई प्रदेश सरकारले गम्भीर रुपमा लिने बताए ।

टिप्पणीहरू